झापा । 

वैदेशिक रोजगारीका लागि कतारमा विभिन्न कारणले अलपत्र तथा अन्य विभिन्न कारणले समस्यामा पर्ने नेपाली कामदारको उद्धारका लागि त्रिपक्षीय सम्झौता भएको छ । 

 वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड र कतारमा रहेको नेपाली व्यवसायी संघ कतारबीच शुक्रबार त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

समझदारी पत्रमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर कतार गएका नेपाली कामदार र नेपाली व्यवसायी संघ कतार शाखासँग आवद्ध रहेका नेपाली व्यवसायीहरुको राहत, उद्धार, स्वदेश फिर्ता तथा पुनः एकीकरणका लागि सहकार्य गर्ने उद्देश्य छ । 

समझदारी पत्रले वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सहयोग पुग्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरूले  जनाएका छन् । 

समझदारी पत्रमा वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्य, बोर्डकी निर्देशक मैया कंडेल र नेपाली व्यवसायी संघ कतारका तर्फबाट संघका अध्यक्ष महेन्द्र चौलागाईंले हस्ताक्षर गरेका छन् ।