झापा । 

वैदेशिक रोजगारीमा अमेरिका र युरोपेली मुलुक पोर्चुगल पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा छुट्टाछुट्टै स्थानबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

अमेरिका पठाइदिएर वैदेशिक रोजगार र बसोवासको व्यवस्था गरिदिने भन्दै १४ लाख ७ हजार रुपैयाँ लिने एक जना र पोर्चुगल पठाई होटलमा आकर्षक तलबसहितको रोजगारी दिलाउने भन्दै २१ लाख लिने एक जनालाईपक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार  अमेरिका पठाइदिने प्रपञ्च गरी १४ लाख ७ हजार लिएर सम्पर्कविहीन बनेका रामेछाप घर भई ललितपुर बस्दै आएका ३४ वर्षीय योगेशराज श्रेष्ठलाई पक्राउ गरिएको हो । श्रेष्ठले अमेरिका जान २५ लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भन्दै रकम लिएर फरार भएका थिए ।

त्यस्तै आकर्षक तलब र सुविधासहितको वैदेशिक रोजगार र उतै स्थायी बसोबास समेतको प्रलोभन देखाएर पोर्चुगल पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम उठाउने सर्लाहीकी धनकुमारी ओली पक्राउ परेकी छन् । 

उनी विभिन्न युवाबाट २१ लाख रुपैयाँ लिएर सम्पर्कविहीन बनी लुकेर बसेको अवस्थामा ललितपुर सातदोबाटोबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । ओलीले पोर्चुगलका होटलमा महिनाको एकदेखि डेढ लाख रुपैयाँ कमाइ हुने र केही समयपछि उतै स्थायीरुपमा बस्ने प्रवन्धसमेत हुने आश्वासन दिएर ठगी गरेको प्रहरीले दाबी गरेको छ । 

वैदेशिक रोजगार विभागमा श्रेष्ठ तथा ओलीविरूद्ध ठगीको उजुरी परेपछि विभागको पत्रका आधारमा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।