बिर्तामोड । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले ३० औं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको छ । 

संस्थाले शनिवार (आज) बिर्तामोडमा पत्रकार भेटघाट गरी प्रतिवेदन सार्वजनिक गर्दै आगामी मंसिर १८ गतेदेखि ६ स्थानमा इकाईगत साधारणसभा र पुस २ गते अन्तिम माइन्यूट प्रमाणिकरण गरी ३० औं बार्षिक साधारणसभा सम्पन्न गर्ने जानकारी दिएको हो । 

कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती र बरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइरालाले संयुक्त रुपमा सार्वजनिक गरेका थिए । 

सार्वजनिक प्रतिवेदनका अनुसार आर्थिक बर्ष २०७८/०७९ असार मसान्तसम्ममा संस्थाको चुक्ता शेयरपुँजी १ अर्व ३५ करोड ५८ लाख ९५ हजार रुपैयाँ छ भने २०७९ असोज मसान्तसम्ममा १ लाख ३५ हजार ७१७ जना सदस्य रहेका छन् । त्यस्तै कोष हिसाव ८९ करोड ७२ लाख ३५ हजार ५१ रुपैयाँ, निक्षेप मौज्दात ८ अर्व ६५ करोड ७६ लाख ८५ हजार ७१३ रुपैयाँ, कर्जा लगानी १० अर्ब १५ करोड ५१ लाख ५३ हजार ७९४ रुपैयाँ, कुल सम्पत्ती ११ अर्व ९९ करोड ६१ लाख ६५ हजार ५९ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक बर्ष २०७८/०७९ असार मसान्तसम्ममा करअघिको नाफा १३ करोड ६७ लाख २५ हजार ३९२ रुपैयाँ रहेको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । 

झापा, इलाम र मोरङ जिल्ला कार्यक्षेत्र रहेको संस्थाले ५५ वटा सेवा केन्द्र मार्फत पाँचवटा ब्यवसायहरु सञ्चालन गरिरहेको छ । संस्थाले बचत तथा ऋण, एनएमसी डेरी, एनएमसी नमूना कृषि फर्म, एनएमसी सहकारी पसल र एनएमसी चिया पसल सञ्चालन गरेको अध्यक्ष उप्रेतीले जानकारी दिए । 

संस्थाले सदस्यको मृत्यु भएका ५० हजार, दुर्घटनाबाट मृत्यु भएका १० लाखसम्मका बिमा सुबिधा, दीर्घरोग उपचारमा २५ हजारसम्म राहत सुबिधा र दुर्घटनाबाट घाइते भएका १० हजार रुपैयाँसम्मलगायत उपचार राहत प्रदान गर्दै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए । त्यसैगरी संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत बिभिन्न कार्य गर्दै आएको छ । 

संस्थाले मंसिर ११ गतेदेखि सहकारी पसलमार्फत आफ्ना सदस्यलाई पसलमा उपलब्ध सामग्री उधारोमा दिने योजनासमेत ल्याएको छ ।

nmc