झापा । 

नेपालबाट वैदेशिक रोजगारीका लागि मलेशिया जाने कामदारको हवाई टिकटको मूल्य अत्याधिक बढेको छ ।हाल मलेशिया बैदेशिक रोजगारीका लागि जाने कामदारले हवाई टिकटबापत ७६ हजार रुपैयाँ तिर्न बाध्य हुने गरेका छन् । 

मुलुकमा भ्रष्टाचार, कुशासन, महंगी तथा कालाबजारियाको अन्त्य गर्न भन्दै राजनीतिक दलहरु आगामी मंसिर ४ को आम निर्वाचनमा होमिएका बेला वैदेशिक रोजगारीमा जाने विपन्न अवस्थाका कामदार अत्याधिक महंगो हवाई भाडा तिरेर रोजगारीमा जान बाध्य भएका छन् ।

करिब ५ घण्टा दुरीको काठमाडौं–मलेसिया उडानको सामान्य हवाई भाडा ३० देखि ३५ हजार भएपनि आइतबार टिकटको लागि ७६ हजार बढी तिर्नुपरेको एक व्यवसायीले बताए । सरकारले इम्प्लोइमेन्ट पे–मोडलमा कामदार पठाउने नीति लिएपनि सबै कामदार रोजगारदाता कम्पनीले दिने टिकटमा उड्न पाएका छैनन् । 

टिकट पठाउने रोजगारदाताहरु पनि सम्झौता भन्दा बढीको टिकटको भुक्तानी पठाउन नसकिने भन्दै नेपाली म्यानपावर कम्पनीसँग असन्तुष्टि जनाउने गरेकोे प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले जनाएको छ ।  व्यवसायीहरुले नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान भरिरहेका चार्टर्ड विमानहरुलाई भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न बाध्य पारेपछि मलेशिया जाने युवाहरुलाई टिकटको समस्या परेको बताएका छन् । त्यसका अतिरिक्त सरकारले ट्राभल्स ऐजेन्सीहरुको अनुगमन नगर्दा टिकटमा कालाबजारिया हावी देखिएको व्यवसायीहरुको टिप्पणी छ । 

हाल राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले हप्ताको ४ उडान र हिमालयन एयरलाइन्सले काठमाडौं–भैरहवा–क्वालालम्पुर चार्टर्ड उडान शुरु गरेपनि वैदेशिक रोजगारीमा जाने कामदार कोरोना कालको जस्तै चार्टर्ड उडानको महंगो भाडा तिर्न बाध्य छन् । 

नेपालका म्यानपावर कम्पनीले मलेशियाका रोजगारदातालाई नेपाली  कामदार जाने मिति र समयको तालिका पठाएअनुसार कामदार नजाँदा मलेशियामा रोजगारदाताले व्यवसायीहरुलाई अत्याधिक दबाब दिइरहेको बताइएको छ ।