बिर्तामोड । 

बिर्तामोडको कृषिथोकबाट बरामद गरिएको माहुर (मुंग्री) हाइब्रेड माछा आइतवार (आज)नष्ट गरिएको छ । वडा नम्बर ५ स्थित कृषिथोक बजारमा रहेको सुन्दर माछा पसलबाट बिक्री गर्दै गरेको अवस्थामा एक सय किलो माछा शनिबार साँझ बिर्तामोड नगरप्रहरीले नियन्त्रणमा लिएको थियो । 

नेपाल सरकारबाट प्रतिवन्धित, मानव स्वास्थ्यलाई  असर पुग्ने उक्त माछा कृषकहरुको सहयोगमा नगरप्रहरीले नियन्त्रणमा लिएको नगरप्रहरी कमान्डर किरण पाण्डेले जानकारी दिए । 

नियन्त्रणमा लिएको माछा आज बिर्ताबजार नजिकै खाल्डो खनेर पुरिएको हो । नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी, माछा उत्पादक कृषक मोहन शिवाकोटी, लक्ष्मी प्रसाद शिवाकोटी, कपिल न्यौपाने, मोहन सिंह राजवंशी, ज्ञानेन्द्र बिमली लगायत स्थानियको रोहबरमा माछा नष्ट गरिएको हो । 

नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले यस प्रकारको प्रतिवन्धित माछा उत्पादन नगर्न कृषकहरुलाई आग्रह गरे । उनले अवैध र मरेका माछा बिर्तामोड नगरक्षेत्र भित्र विक्री वितरण गरेको भेटिएमा कानून अनुसार नगरपालिकाले कार्वाहि गर्ने चेतावनी दिए ।  बिर्तामोड नगरपालिकाले मरेका माछा विक्रीवितरणमा प्रतिबन्ध लगाएको छ ।