बिर्तामोड । 

प्रदेश १ सरकारको लगानीमा मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तीमुढामा स्थापना भएको देशकै पहिलो मनमोहन प्राबिधिक विश्वविद्यालयले बिद्यार्थी भर्ना अभियान २०७९/०८० का लागि पत्रकारसँग अन्तरक्रिया शुरु गरेको छ ।  विश्वविद्यालयले शनिवार (आज) बिर्तामोडमा दोस्रो शैक्षिक सत्रका लागि ईन्जिनियरिङ विषय पढन चाहने बिद्यार्थी भर्ना सम्बन्धमा झापाका पत्रकारहरुसँग अन्तरक्रिया गरेको हो । 

विश्वविद्यालयले आफ्ना उद्धेश्य, लक्ष्य, योजना तथा कार्यक्रमको बारेमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।  विश्वविद्यालयका उपकुलपति सुवास श्री पोखरेलले प्रदेश सरकार मातहतमा सञ्चालन भएको र सीपमा आधारित पाठ्यक्रम कार्यान्वयन गरिएको बताए । उनले सीपलाई श्रम र उत्पादन हुँदै समृद्धिसँग जोड्ने विश्वविद्यालयको लक्ष्य रहेको बताउँदै अन्य विश्वविद्यालयको भन्दा फरक पाठ्क्रम डिजाइन गरेका बताएका छन् । उनका अनुसार आवश्यक जनशक्ति विश्वविद्यालयबाट उत्पादन गरी बाहिरबाट ल्याउनुपर्ने बाध्यता हट्नेछ ।

 विश्वविद्यालयको शिक्षालाई अन्तर्राष्ट्रिय स्तरको बनाउनलाई सार्क राष्ट्रका विद्यार्थीहरुका लागि समेत कोटा छुट्याएको उपकुलपति पोखरेलले जानकारी दिए । वश्वविद्यालयले स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ एप्लाइड साइन्स एण्ड टेक्नोलोजी र स्कुल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेस गरी तीनवटा स्कुल सञ्चालन हुने जनाएको छ । शैक्षिक सत्र २०८०/८१ बाट स्नातक र स्नातकोत्तर तहमा स्ट्रक्चरल इन्जिनियरिङ बिषय सञ्चालन गरिने उपकुलपति पोखरेलले बताए ।

उनका अनुसार शैक्षिक सत्र २०८३–८७ सम्ममा स्नातक तहमा बायोमेडिकल इन्जिनियरिङ, मेकानिकल वा अटोमोबाइल इन्जिनियरिङ, स्नातकोत्तर तहमा ट्रान्सपोर्टेसन वा टनेल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ तथा विद्यावारिधी तर्फ सिभिल र इलेक्ट्रिकल इन्जिनियरिङको कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको छ । हाल विश्वविद्यालयले यस शैक्षिक सत्रका लागि स्नातक तहमा सिभिल र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा २४/२४ सिटमा भर्ना खुलाएको जनाएको छ । सो कार्यक्रममा भर्ना हुन प्रविणता प्रमाणपत्र, उमावि तह, ए लेभल वा इन्जिनियरिङ डिप्लोमा वा सो सरहको परीक्षामा कुल प्राप्ताङ्कको ४५ प्रतिशत अंक प्राप्त गरि फिजिक्स, केमेस्ट्री र गणितमा कम्तिमा ४५ प्रतिशत ल्याइ उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । 

आदिवासी जनजाति र महिला विद्यार्थीका लागि ४÷४ सिट र दलित समुदायका विद्यार्थीका लागि २ सिट छुट्याएको छ । उक्त ४ बर्षे कार्यक्रमका लागि सिभिललाई ५ लाख ८५ हजार र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्सका लागि ५ लाख ७५ हजार शुल्क निर्धारण गरेको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार डा. दिलनाथ फुयालले मनमोहन प्राविधिक विश्वविद्यालयले शिक्षालाई प्रत्यक्ष रोजगारसँग जोड्ने खालका कार्यक्रमहरु अगाडी बढाएको बताए । अन्य विश्वविद्यालयको भन्दा सस्तो शुल्कमा मनमोहनले पढाउँदासमेत स्थानीय विद्यार्थीहरुले थाहा नपाएको उनको भनाई छ । उनले विश्वविद्यालयले सैद्धान्तिक र प्रयोगात्मक कक्षालाई ५०/५० प्रतिशतमा विभाजन गरेको जानकारी दिए ।

वर्तमान परिप्रेक्ष्यमा अति आवश्यक सीपलाई विश्वविद्यालयले पाठ्यक्रममा समावेश गर्दै लैजाने रजिष्ट्रार फुयालको भनाई छ । आर्टिफिसियल इन्टेलिजेन्स तथा व्याचलर अफ नेचुरोप्याथी एण्ड योगिक साइन्सको कोर्षसमेत पढाउने योजना बनाएको उनले बताए । प्रोजेक्टमा आधारित सिकाईमा विश्वविद्यालयले ध्यान दिएको बताइएको छ । विश्वविद्यालयमा सुलभ मुल्यमा निर्माण सामाग्रीको जाँच गर्ने सुविधा रहेको फुयालले जानकारी दिए ।

विश्वविद्यालयले अस्पतालमा प्रयोग हुने औजार तथा उपकरण मर्मतमा आवश्यक जनशक्ति उत्पादन गर्ने उद्धेश्यले बायोमेडिकल इन्जिनियरिङको कक्षासमेत चाँडै सञ्चालन गर्ने जनाएको छ । उक्त जनशक्ति नेपालमा पर्याप्त नहुँदा भारतबाट मगाउनु पर्ने बाध्यता रहेको छ । मनमोहन प्राविधिक विश्वविद्यालयबाट उत्पादन भएका जनशक्तिलाई सहज रोजगार उपलब्ध गराउने उद्धेश्यले रोजगार युनिटको समेत स्थापना गरिएको बताइएको छ ।  कलेजले १० बर्षभित्र २ हजार ८ सय ३१ जना विद्यार्थी उत्पादन गर्ने लक्ष्य लिएको जनाइएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, उपाध्यक्ष सुशिला संग्रौलालगायतको उपस्थिति रहेको थियो । कार्यक्रको सहजीकरण सञ्चारकर्मी गणेश लम्सालले गरेका थिए । 

school