झापा ।

  वैदेशिक रोजगार विभागले  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका पाँच वटा श्रम तथा रोजगार कार्यालयलाई निश्चित संख्यामा पूर्व र अन्तिम स्वीकृति प्रदान गर्ने अख्तियारी दिएको छ । 

 विभागले श्रम तथा रोजगार कार्यालय धनगढी, सुर्खेत, पोखरा, जनकपुर र विराटनगरलाई वैदेशिक रोजगारमा कामदार पठाउन निश्चित संख्यामा पूर्व तथा अन्तिम स्वीकृति प्रदान गर्ने अधिकार दिने निर्णय गरेको जनाएको छ ।

क्षेत्रीय विमानस्थलका रूपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जजिरा एयरले यात्रुको अभावमा उडानमा कटौती गर्ने निर्णय सार्वजनिक गरेपछि विभागले क्षेत्रीय रूपमा श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेको हो । 

उल्लेख्यित पाँच वटा श्रम तथा रोजगार कार्यालयलाई वैदेशिक रोजगारको श्रम स्वीकृति सम्बन्धी कार्य गर्ने अधिकारी यसअघि नै प्रत्यायोजित गरिएको थियो । तर श्रम स्वीकृतिका लागि अनिवार्य मानिएका स्वास्थ्य परीक्षण तथा अभिमुखीकरणसम्बन्धी संस्था नगएपछि कार्यान्वयनको गति भने सुस्त हुँदा भैरहवाबाट वैदेशिक रोजगारमा जाने कामदारको संख्यामा वृद्धि हुन सकेको थिएन । अहिलेसम्म पनि कतार भिसा सेन्टर काठमाडौंमा मात्रै सीमित छ ।

विभागले क्षेत्रीय कार्यालयलाई स्थानीय तहमा विज्ञापन गरे–नगरेको अनुगमन गर्ने अधिकार पनि रहेको बताएको छ । ती कार्यालयले व्यक्तिगत श्रम स्वीकृति दिने, म्यानपावर कम्पनीका शाखा कार्यालयहरूको अनुगमन तथा निरीक्षण गर्ने अधिकार पनि पाएका छन् ।