बिर्ताबजार ।

झापा बिर्तामोड–३ सैनिकमोडको बिराट बहुउद्देश्यीय सहकारी संस्थाले १७ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले शुक्रबार (आज) बिर्ताबजारमा साधारणसभा सम्पन्न गरेको हो । 

संस्थाका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा भएको साधारणसभामा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । 

साधारणसभाका अवसरमा संस्थाका उपाध्यक्ष स्व.पर्शुराम सिटौलाको नाममा स्थापित स्व. पर्शुराम स्मृति समाजसेवा पुरस्कारबाट पूर्व सांसद डिल्लीप्रसाद सिटौलालाई नगद ११ हजार एकसय ११ रुपैयाँसहित सम्मान गरिएको थियो ।  

 संस्थाले उत्कृष्ट बचतकर्ताको रुपमा गणेश उप्रती, उत्कृष्ट ऋणिका रुपमा कुमारी कार्की बस्नेत र उत्कृष्ट कर्मचारीका रुपमा शान्तादेबी सेडाई सिटौलालाई सम्मान गरेको थियो । त्यस्तै संस्थाका सदस्य छोराछोरी मध्येबाट उत्कष्ट नतिजा ल्याउनेलाई समेत सम्मान गरेको थियो । 

झापा जिल्लाभर कार्यक्षेत्र रहेको संस्थामा आर्थिक बर्ष २०७८÷०७९ सम्ममा ३ हजार ३ सय १८ जना शेयर सदस्य रहेका छन् भने शेयर पूँजी ६ करोड ७२ लाख ३१ हजार ९०० रुपैंयाँ पुर्याउन सफल भएको अध्यक्ष शिवाकोटीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । 

त्यस्तै लगानीमा रहेको कर्जा ३० करोड ६७ लाख ७३ हजार ९७४, संस्थामा रहेका बचत ३३ करोड ५६ लाख ७४ हजार ६८६ रुपैयाँ ४४ पैसा र आव २०७८/०७९ को कुल कारोवार ४३ करोड २० लाख ४०८ रुपैयाँ ३५ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले आव २०७८/०७९ मा ८३ लाख १४ हजार ९०२ रुपैयाँ ५२ पैसा खुद नाफा गर्न सफल भएको प्रतिवेदनमा छ । 

स्वागत संस्थाका उपाध्यक्ष होम सिटौलाले गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसाई, समनितका तर्फबाट डिल्लीप्रसाद सिटौला, पूर्व जनप्रतिनिधि प्रेमप्रकाश सिटौला, कन्चनजंघा स्कुलका प्राचार्य गुरुभक्त न्यौपाने, महेन्द्ररत्न माबि ब्यवस्थापन समितिका अध्यक्ष टंक सेडाई, समाजसेबी खगेन्द्र प्रसाईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका प्रवन्धक रुद्र सिटौलाले गरेका थिए ।