बिर्तामोड ।

झापाको बिर्तामोड–३ सैनिकमोडमा मुख्य कार्यालय रहेको बिराट बहुउद्देश्यीय सहकारी संस्थाले शेयर पूँजी ६ करोड ७२ लाख ३१ हजार ९०० रुपैंयाँ पुर्याउन सफल भएको छ ।

संस्थाको १७ औं बार्षिक सभाको पूर्व सन्ध्यामा बिहीवार (आज) आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाका अध्यक्ष मोहन सिवाकोटीले प्रतिवेदन सार्वजनिक गर्दै सहकारीले बर्षभरी गरेका गतिविधीका विषयमा जानकारी गराएका थिए । 

गतवर्ष १ करोड ५४ लाख ६३ हजार २६५ रुपैंयाँ जगेडा कोषमा रकम जम्मा गरेको संस्थाले यसबर्ष १ करोड ७५ लाख ९९१ रुपैंयाँ जगेडा कोषमा राख्न सफल भएको अध्यक्ष शिवाकोटीको भनाई छ ।

संस्थाले सदस्य स्वास्थ्य उपचार सहयोग कोष मार्फत ५० जना सदस्यको स्वास्थ्य उपचारमा ८ लाख १९ हजार ५०० रुपैंयाँ सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै ११ जनालाई सुत्केरी पोषण खर्च वापत ५५ हजार ५५ रुपैंयाँ, दुई जना सदस्यको  मृत्यु भएपछि सदस्य काजक्रिया खर्च वापत ४० हजार १० रुपैयाँ सहयोग प्रदान गरेको छ । संस्थाले काजक्रिया सरहे खर्च बापत २९ जनालाई ३ लाख १२५ रुपैयाँ र सामाजिक उत्तरदायित्व अन्तरगत ४६ हजार ५०० रुपैयाँ सहयोग प्रदान गरेको बताइएको छ ।

बिर्ताबजारमा सञ्चालनमा रहेको सहकारीको सेवा केन्द्र बिस्तारको काम यसै आर्थिक बर्षभित्र गरिने संस्थाका प्रबन्धक रुद्रप्रसाद सिटौलाले बताए । सबै सदस्यको पहुँचमा सेवा पुर्याउनका लागि सुलभ सहकारी पसल, प्रबिधिमैत्री डिजिटल भुक्तानी, मोवाईल बैकिङ, एसएमएस, क्यूआर कोड सेवा बिस्तार गरिने संस्थाको लक्ष्य रहेको बताइएको छ । संस्थाका उपाध्यक्ष स्व.पर्शुराम सिटौलाको नाममा स्थापित ११ हजार १११ रुपैयाँ पुरस्कार राशीको पर्शुराम स्मृति पुरस्कार सामाजिक क्षेत्रमा बिशिष्ठ योगदान पुर्याउने एकजना ब्यक्तिलाई साधारणसभाको अवसरमा शुक्रबार प्रदान गरिने बताइएको छ । सहकारीले उत्कृष्ट बचतकर्ताको रुपमा गणेश उप्रती, ऋणि कुमारी कार्की बस्नेत, कर्मचारी शान्तादेबी सेडाई सिटौलालाई समेत सम्मान गर्ने बताइएको छ ।

झापा जिल्लाभर कार्यक्षेत्र रहेको संस्थामा आर्थिक बर्ष २०७८/०७९ सम्ममा ३ हजार ३ सय १८ जना शेयर सदस्य रहेका छन् भने लगानीमा रहेको कर्जा ३० करोढ, ६७ लाख ७३ हजार ९७४, संस्थामा रहेका बचत ३३ करोड ५६ लाख ७४ हजार ६८६ रुपैयाँ ४४ पैसा र आव २०७८/०७९ को कुल कारोवार ४३ करोड २० लाख ४०८ रुपैयाँ ३५ पैसा रहेको पत्रकार भेटघाटमा वितरित प्रतिवेदनमा उल्लेख छ । संस्थाले आव २०७८/०७९ मा ८३ लाख १४ हजार ९०२ रुपैयाँ ५२ पैसा खुद नाफा गर्न सफल भएको प्रतिवेदनमा छ । 

पत्रकार भेटघाट कार्यक्रममा सल्लाहकार उमानाथ ओली, संस्थाका शिक्षा उपसमिति सदस्य अर्जुन पाठकलगायतको उपस्थिति रहेको थियो ।