बिर्तामोड ।
झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले १२ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । झापामा २७, इलाममा १० र मोरङमा १० वटा सेवा केन्द्रबाट सदस्यलाई सेवा प्रदान गर्दै आएको संस्थाले शनिवार (आज) बिर्तामोडमा प्रतिनिधिमुलक साधारणसभाको आयोजना गरी माइन्यूट प्रमाणिकरण गरेको हो ।
संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको साधारणसभामा बिर्तामोड नगरपालिका प्रमुख पबित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।
संस्थाका अध्यक्ष भट्टराईले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७८/०७९ असार मसान्तसम्ममा शेयर सदस्य ५१ हजार ४३६ जना, शेयरपुँजी ३१ करोड ८३ लाख ९८ हजार ८००, बचत रहेको रकम १ अर्व १३ करोड ४३ लाख ६० हजार ७७८ रुपैयाँ ५३ पैसा, कर्जा लगानी तथा असुली २ अर्व १६ करोड २८ लाख ६८ हजार ३५०, जगेडा तथा अन्य कोषहरु १६ करोड ४२ लाख ५६२ रुपैयाँ २ पैसा रहेको छ । त्यस्तै आव २०७८/०७९ मा आम्दानीतर्फ ४५ करोड ९९ लाख ४६ हजार ६१८ रुपैयाँ १६ पैसा र खर्चतर्फ ४० करोड १५ लाख ९ हजार ६५८ रुपैयाँ ८ पैसा गरेर ५ करोड ८४ लाख ३६ हजार ९६० रुपैयाँ ८ पैसा नाफा गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाका उपाध्यक्ष किरण कपुरीले स्वागत गरेको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बिर्तामोड शाखा प्रबन्धक बिबेक डाँगी, बिर्तामोड नगरपालिका सहकारी अधिकृत डिल्ली दाहाल, झापा जिल्ला सहकारी संघका सचिब भवानीप्रसाद दंगाल, नगर प्रमुख प्रसाईलगायतले शुभकामना मन्तव्य राखेको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए । कार्यक्रमको सञ्चालन संस्थाका जोखिम विभाग अधिकृत प्रेम बस्नेत (बिजय) ले गरेका थिए ।