चारआली ।

 मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले खेलकुदको विकास, विस्तार र प्रवद्र्धन गर्न राज्यको ध्यान जान जरुरी रहेको बताएकी छिन् ।  उनले सवैखाले खेल र नगरको खेलाडीको विकास र खेलकुदकालागि स्थानीय सरकार मेचीनगर सकरात्मक रहेको बताइन् ।

शुक्रबार झापाको मेचीनगर —१२ कालीझोडा कालिका खेलमैदानमा सम्पन्न प्रथम धाइजन चारआली कप दिलबहादुर राई स्मृति नकआउट फुटबल प्रतियोगिता २०७९ को फाइनल प्रतियोगितामा बोल्दैं उपप्रमुख उप्रेतीले त्यस्तो बताएकी हुन् । ‘खेलको माध्यमबाट स्वस्थ, सक्षम, मर्यादित, अनुशासित र सिर्जनशील नागरिक तयार गर्न सकिन्छ ’ उपप्रमुख उप्रेतीले सम्बोधनका क्रममा भनिन् ‘ खेलकुदले राष्ट्रको एकताको प्रवद्र्धन गर्न तथा अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्न सघाउँछ । यसरी खेलकुदको महत्व व्यक्तिको व्यक्तित्व विकासदेखि राष्ट्रको प्रतिष्ठा आर्जन गर्नमा समेत महत्वपूर्ण छ । ’

 ‘खेलकुद’ भन्नाले शारीरिक तथा मानसिक प्रयास र सीपको माध्यमबाट व्यक्तिगत वा समूहमा प्रतिस्पर्धात्मक क्रियाकलापमा संलग्न रही नतिजामुखी उपलब्धि हासिल गर्ने क्रियाकलापमा संलग्न रहने कार्यलाई सम्झनुपर्ने उनको भनाई थियो  । हाम्रो देशमा परम्परागतरुपमा कबड्डी, डण्डिवियो जस्ता खेलहरु जहाँतही खेलिन्छन् । फुटवल र भलिवल सर्वाधिक प्रिय खेल भएको उनले  स्पष्ट पारिन् । पछिल्लो दशकमा क्रिकेटको लोकप्रियता पनि ह्वात्तै बढेको भन्दैं उनले त्यसैले खेल संस्थाहरुले खेलाडीहरु खेलकुद क्रियाकलापमा सक्रिय भइरहन अनुकूल वातावरण प्रदान गर्ने कार्यमा सदा क्रियाशील भै रहन आवश्यक औल्याइन् ।

कार्यक्रममा सहभागी सवैलाई धाइजन चारआली फुटबल क्लब अध्यक्ष आशिष बनले स्वागत गरेका थिए भने खेलका संयोजक भिम कार्कीको अध्यक्षतमा भएको फाइनल प्रतियोगितामा विश्व हिन्दु महासंघका केन्द्रिय महाचिव पुष्कर खतिवडालगायतले बोलेका थिए । कार्यक्रममा प्रतियोगितालाई प्रत्यक्ष र परोक्षरुपमा सहयोग गर्ने सवैलाई सम्मान पत्र प्रदान गरिएको क्लबका संस्थापक सचिव धनबहादुर तामाङ्गले बताए ।