बिर्तामोड । 

झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुद्देश्यीय सहकारी संस्थाको १०औं साधारणसभाका लागि प्रतिनिधि छनोट कार्यक्रम शुरु भएको छ ।

मुख्य कार्यालय अन्तरगत सोमवार (आज) बिर्तामोडमा प्रतिनिधि छनोट भएको छ । संस्थाका अध्यक्ष सुव्रत न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला रहेका थिए । 

कार्यक्रम नगर उपप्रमुख संग्रौलाले सहकारीले सदस्यका बालबालिकालाई सहुलियतमा शिक्षा दिने उद्देश्यले विद्यालय सञ्चालन गर्नु सकारात्मक र सचनात्मक काम भएको बताए ।उनले बिर्तामोड नगरपालिकाको शिक्षा ऐनले विद्यालय सञ्चालनमा कुनै समस्या नभएको समेत बताए । उनले शैक्षिक गुणस्तर विकासमा नगरपालिका लागिपरेको समेत उल्लेख गरे ।

सहकारीका सदस्यले जुन उद्देश्यले ऋण लिएको सोही कुरामा लगानी गर्नुपर्नेमा जोड दिए । साथै, सहकारीलाई आयआर्जन हुने खालका क्षेत्रमा लगानी गर्न सुझाव दिए।

 कार्यक्रममा बिर्तामोड नगरपालिका–४ का वडाध्यक्ष राहुल शर्मा, ५ नं. वडाका कार्यवाहक अध्यक्ष ओमभक्त सेडाईंले साधारणसभा सफलताको शुभकामना दिए । उनीहरुले मुलुकको अर्थतन्त्रमा सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण भएको भन्दै शिक्षा सहकारीले आफ्ना सदस्य केन्द्रीत अधुरा कामहरु पूरा गर्नुपर्ने धारणा राखे । 

कार्यक्रममा संस्थाका अध्यक्ष सुव्रत न्यौपाने अध्यक्षको प्रतिवेदन, लेखा समिति संयोजक युवराज निरौला लेखाको प्रतिवेदन, ऋण उपसमिति संयोजक हेमराज मिश्रले ऋण उपसमितिको प्रतिवेदन पेश गरेका थिए । 

कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य, लेखा समिति, ऋण उपसमिति, शिक्षा उपसमिति, महिला उपसमिति, कर्मचारीलगायतको सहभागिता रहेको थियो । संस्थाका उपाध्यक्ष हेमराज मिश्रले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव सूर्यकुमार खतिवडाले गरेका थिए ।

मुख्य कार्यालयसहित छ वटा सेवा केन्द्रमार्फत् सेवा प्रदान गर्दै आएको संस्थाको भोलि (मंगलबार) सदस्य सेवा केन्द्र दुर्गापुरको दलित सामुदायिक भवनमा, बुधबार सदस्य सेवा केन्द्र शनिश्चरेको अर्जुनधारा मन्दिरको सभाहलमा, बिहीबार सदस्य सेवा केन्द्र धुलाबारीको धुलाबारीको अतिथि सदनमा, शुक्रबार सदस्य सेवा केन्द्र दुहागढीको धाइजनस्थित राम जानकी मन्दिरमा र शनिबार सदस्य सेवा केन्द्र चैतुबारीको पञ्चरत्न माविको सभाहल हुने संस्थाले जनाएको छ ।

संस्थाको अन्तिम माइन्युट प्रमाणिकर भेला भने ११ गते मंगलबार बिर्तामोडस्थित अतिथि सदनमा हुने संस्थाका व्यवस्थापक दीपक धौरालीले जानकारी दिए ।