बिर्तामोड । 

झापाको बिर्तामोड–४ मा मूख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले (भोली) सोमवारदेखि इकाईगत बार्षिक साधारणसभा गर्ने भएको छ । संस्थाको १० औं बार्षिक साधारणसभा अन्तरगत इकाईगत प्रतिनिधि छनौट भोली असोज ३ गतेदेखि शुरु गरेर ११ गते माईन्यूट प्रमाणिकरण गर्ने संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले जानकारी दिए । 

अध्यक्ष न्यौपानेका अनुसार असोज ३ गते बिर्तामोड, ४ गते दुर्गापुर, ५ गते शनिश्चरे, ६ गते धुलाबारी, ७ गते धाइजन र ८ गते चैतुवारी सेवा केन्द्रमा इकाईगत प्रतिनिधि छनौट गरिनेछ ।  इकाईगत छनौट भएका प्रतिनिधिहरुले आगामी असोज ११ गते माईन्यूट प्रमाणिकरण गर्ने अध्यक्ष न्यौपाले बताएका छन् । १० जना सदस्य बराबर एकजना सदस्य प्रतिनिधिका रुपमा छनौट हुने उनले बताए । 

संस्थामा हाल ४ हजार ६१३ जना शेयर सदस्य रहेका छन् जसका २ हजार ५५६ महिला, २ हजार ३७ जना पुरुष र २० जना अन्य सदस्य रहेका अध्यक्ष न्यौपानेले जानकारी दिए । हाल संस्थाले दुर्गापुर, शनिश्चरे, धुलाबारी, धाइजन, चैतुवारी सेवा केन्द्र र बिर्तामोडस्थित प्रमुख कार्यालयबाट सेवा प्रवाह गर्दै आएको छ । 

संस्थाले आर्थिक बर्ष २०७८÷०७९ सम्ममा ३ करोड ५१ लाख १९ हजार २०० रुपैयाँ शेउरपुँजी पुर्याउन सफल भएको संस्थाका ब्यवस्थापक दिपेश धौरालीले जानकारी दिए । उनका अनुसार ऋण लगानी १९ करोड ४२ लाख, कोषहरु एक करोड ७७ लाख ७७ हजार ५७० रुपैयाँ पुर्याएको छ भने आ.व २०७८÷०७९ मा ३० लाख १८ हजारबढी नाफा गरेको छ । त्यस्तै अघिल्लो बर्षको तुलनामा संस्थाले २९ प्रतिशतले कोषबृद्धि गरेको ब्यवस्थापक धौरालीले बताए । 

संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत विपन्न समुदायका सामुदायिक बिद्यालयका ५ जना  बिद्यार्थीलाई कक्षा ६ देखि १० सम्म दायित्व लिने योजना बनाएको संस्थाका सचिव सूर्यकुमार खतिवडाले जानकारी दिए । संस्थाले बालबचतकर्तालाई जन्म दिनमा केक प्रदान गरेको र गत बर्ष २ सय १८ जना बालबचतकर्ताहरुलाई जन्मदिनमा केक वितरण गरेको सचिव खतिवडाले बताए । 

त्यस्तै संस्थाले सदस्यहरुलाई स्वास्थ्य उपचार अन्तरगत २ लाख रुपैयाँसम्म सहयोग गर्दै आएको संस्थाका उपाध्यक्ष हेमराज मिश्रले जानकारी दिए । उनका अनुसार शिशु सहायता कार्यक्रम अन्तरगत सुत्केरी सदस्यहरुलाई १५ हजार, सर्पले डस्दा ५ हजार, सदस्यहरुलाई निःशुल्क रगत प्रदानलगायतका सेवा दिदै आएको उपाध्यक्ष मिश्रले जानकारी दिएका छन् । 

  • शिक्षा सहकारीको ब्यवस्थापनमा शिक्षा शिकोस निकेतन बिद्यालय सञ्चालन

शिक्षा बहुउद्देश्यी सहकारी संस्थाको ब्यवस्थापनमा शिक्षा शिकोस निकेतन बिद्यालय सञ्चालनमा रहेको छ ।

बिर्तामोडको देबी पञ्चकन्यामा सञ्चालित बिद्यालयमा मन्टेश्वरी बिधिमा आधारित पूर्व प्राथमिक तहका कक्षा सञ्चालन भइरहेको संस्थाका उपाध्यक्ष हेमराज मिश्रले जानकारी दिए । 

उक्त बिद्यालयमा संस्थाका सदस्यका छोराछोरीलाई प्राथमिकता दिदै अन्य बालबालिकासमेत अध्ययनरत गराइदै आएको उपाध्यक्ष मिश्रले बताए । बिद्यालयमा शिक्षक, शिक्षिका तथा कर्मचारी गरेर ९ जना छन् भने ५० जना बिद्यार्थी अध्ययनरत रहेको जनाइएको छ ।