बिर्तामोड । 

शिक्षा शिकोप निकेतनले नानीबाबुहरुको आँखा जाँच गराएको छ । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको व्यवस्थापन र दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा निकेतनले बालबालिकाको आँखा जाँच गराएको हो ।

शिक्षा शिकोप निकेतनकी प्रिन्सिपल रेश्मा घिमिरेका अनुसार ४८ जना बालबालिकाको आँखा जाँच गरिएको छ । जाँच गरिएकामध्ये दुई जना बालबालिकाको आँखामा समस्या देखिएको प्रिन्सिपल घिमिरेले बताइन् ।

बालबालिकामा आँखाको संक्रमण हुनसक्ने र समयमा पहिचान गर्न सके थप जोखिम नहुने भएकाले परीक्षण व्यवस्थापन मिलाइएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए ।

दृष्टि आँखा अस्पतालका तर्फबाट नेत्ररोग विशेषज्ञ अजितकुमार ठाकुर र रीना फियाकले बालबालिकाको आँखा परीक्षण गरेका थिए।ठाकुरका अनुसार मोवाइल अत्याधिक हेर्ने बालबालिकामा आँखाको समस्या धेरै देखिने गरेको छ । उनले मोवाइलबाट आफ्ना छोराछोरीलाई टाढा राख्न सुझाव दिएका छन् ।