झापा ।

 नेकपा एमाले झापा जिल्ला कमिटी अन्तरगत स्वास्थ्य तथा जनसंख्या विभागले देशभर डेंगु रोगको प्रकोप बढिरहेको वर्तमान अवस्थामा सरकारले  रोकथाम र नियन्त्रणका लागि उचित कदम नचालेको दावी गरेको छ ।

मंगलबार (आज) सम्पन्न बैठक पछि विभागीय प्रमुख प्रोमिश गिरीले प्रेसनोट जारी गर्दै नेपाल सरकारले डेंगु रोगको प्रकोप नियन्त्रणमा सन्तोष जनक काम गर्न नसकेको उल्लेख गरेका छन् ।

डेंगु जाँच पड्ताल र उपचारलाई सहज, सरल एवम् आम सर्वसाधारणसम्म पुग्ने गरी व्यवस्था गर्न आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख गिरीले डेंगु नियन्त्रणका लागि जनचेतना जगाउन सरकारलाई सुझाव दिएका छन् । उनले लामखुट्टेको लार्भा नष्ट गर्ने कार्य यथाशीघ्र सञ्चालन गर्न आग्रह पनि गरेका छन् ।

आम सर्वसाधारणलाई पनि चेतना जागरण गर्दै विभागीय प्रमुख गिरीले लामखुट्टेले टोक्न नपाउने गरी शरीर ढाक्नेगरी कपडा लगाउन, घर वरिपरी सफा राख्न, पानी जम्ने खाल्डाखुल्डी तथा अन्य सामानहरु व्यवस्थित गर्न पनि प्रेसनोटमार्फत् आग्रह गरिएको छ ।