बिर्तामोड । 

आर्थिक बर्ष समाप्तपछि प्रत्येक बर्ष झापामा सहकारी संस्थाहरुले बार्षिक साधारणसभा गर्ने गरेका छन् । सहकारी संस्थाले आयोजना गर्ने साधारणसभामा स्टेजमा कार्यक्रम भइरहेको समयमा उपस्थिति सदस्यहरु बक्ताको कुरा सुन्न भन्दा पनि आ–आफ्नै गफमा मस्त देखिन्छन् । 

अतिथिका रुपमा संस्थाले बोलाएका बक्ताले आफ्नो कुरा बोलिरहेका हुन्छन् तर, हलमा उपस्थिति सवै आ–आफ्नै गफमा मस्त देखिने गर्छन् । एउटा पुरानो भनाई छ ‘भालुलाई पुराण’ त्यस्तै अवस्था प्राय सहकारीको साधारणसभामा देखिने गरेको छ । बक्ताले आफुले जाने बुझेको कुरा सुनाई रहन्छ तर, गफमा मस्त रहेका सहकारीका सदस्यले भने बक्ताको कुरालाई ध्यानै नदिएको महसुस भइरहे पनि बक्ता  भने बोलेको बोलै गर्न बाध्य हुन्छन् । 

यो दृश्य शनिवार (आज) बिर्तामोडको अतिथि सदनमा आयोजित एउटा सहकारी संस्थामा पनि देखिन्थ्यो । बिर्तामोडको गोर्खा बचत तथा ऋण सहकारी संस्थाको १६ औं साधारणसभामा बक्ताले आफ्नो कुरा राखिराखेका थिए तर, त्यो बत्ताको कुरा सुन्ने भन्दा पनि आ–आफ्नै गफमा उपस्थितिहरु मस्त देखिन्थे । 

संस्थाका अध्यक्ष मनबहादुर पाहिमको अध्यक्षतामा भएको साधारणसभामा प्रदेश सहकारी संघका सचिव भवानीप्रसाद दंगालको प्रमुख आतिथ्य रहेको थियो ।