काठमाडौं ।

 गृह मन्त्रालयले भिजिट भिसामा वैदेशिक रोजगारीमा जाने र अलपत्र पर्ने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९ ल्याएको प्रष्ट पारेको छ ।

कार्यविधिका माध्यमबाट सरकारले स्वतन्त्रतापूर्वक आवागमनको संवैधानिक हक संकुचित गर्न खोजेको टिप्पणी भएपछि गृहले कार्यविधिको बचाउ गरेको हो ।

 वैदेशिक रोजगारीमा जानेहरू वैदेशिक रोजगार ऐनले तोकेको प्रक्रिया पूरा गरी जानुपर्ने र भ्रमण भिसामा जानेहरू निर्धारित समयमा स्वदेश फर्किउन् भनेर कार्यविधि ल्याइएको  गृह मन्त्रालयले जनाएको छ । 

 कोरोना भाइरसविरूद्धको खोप पर्याप्त भई अन्तर्राष्ट्रिय उडान सहज भएपछि नेपालबाट आकर्षक तलबको प्रलोभनमा लाखौं रूपैयाँ खर्च गरेर भिजिट भिसामा यूएई लगायत खाडीका देशमा पुगेर अलपत्र पर्ने क्रम बढेको छ ।