बिर्तामोड ।

झापाको मनकामना कलेज तथा माध्यमिक विद्यालयले हालै कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई शुक्रबार (आज) अभिमुखीकरण गरेको छ ।

विद्यालयका प्रधानाध्यापक केशव ढुंगानाको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा एजुकेशनल कोअर्डिनेटर कुमार थपलियासहित विभागीय प्रमुखहरुले विद्यालयको नीति, नियम आचार संहिताबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा विभागीय प्रमुखहरु विजय तिम्सिना, भेषराज चौंलागाई, सुधिर सुवेदी र उदयकुमार कटुवालले विषयगत मन्तब्यसहित विद्यार्थीलाई अभिमुख गरेका थिए ।

पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख गोपाल काफ्लेले सञ्चालन गरेको कार्यक्रममा अंग्रेजी विषयका अध्यापक शुभला तामाङले शाब्दिक स्वागत गरेकी थिइन् ।

सो कार्यक्रममा नेपाल आइडलका फाइनलिष्ट गायक प्रताप दाशले केही गीतहरु गाएर मनोरञ्जन दिलाएका थिए । नेपाली चलचित्र ‘प्रेमगीत ३’ को प्रचार अभियानमा कार्यकारी निर्माता चक्रबहादुर चन्दसहितको टोली झापा आएको अवसरमा गायक दाशले मनकामनाका विद्यार्थीहरुलाई गीत मार्फत् मनोरञ्जन दिलाएका हुन् ।