झापा । 

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा  झापाबाट २७ खेलमा ४४९ जना खेलाडी छनौट भएका छन् ।  जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा सञ्चालित जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिताको सोमबार सम्पन्न भएको हो । 

मेची रंगशालामा सम्पन्न खेलाडी छनौट प्रतियोगितामा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको प्रमुख आतिथ्य रहेको थियो ।  कार्यक्रममा झापा जिल्ला खेलकुद विकास ससमितिका अध्यक्ष  भेषराज भण्डारी ‘प्रशान्त’ले छनोट प्रतियोगिताको समग्र गतिविधि बारे जानकारी गराएका थिए ।  यसअघि खेलकुद परिसर सरसफाइ गर्नुका साथै मेची रंगशालाकका वरिपरि बृक्षारोपण गरिएको थियो ।

झापामा छनोट भएका खेलाडीले अगामी भदौ २४ देखि असोज ८ गतेसम्म सञ्चालन हुने १ नं प्रदेशस्तरीय छनोट प्रतियोगितामा भाग लिनेछन् । त्यसका लागि झापाबाट ४४९ खेलाडी छनोटभएका जनाइएको छ । 

छनोटमा परेका खेलाडीलाई समितिले जर्सीका साथै अन्य आवश्यक सामग्री उपलब्ध गराउने छ । छनोटमा परेका खेलाडीलाई आवश्यकता अनुसार क्लोज–क्याम्पमा अभ्यास गराइनेछ ।