बिर्तामोड ।

शिक्षा संगै विभिन्न सामाजिक काममा सक्रिय रहेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाएको छ । नेपाल शैक्षिक परामर्श संघको २६ औं स्थापना दिवसको अवसरमा देशभर रहेका जिल्ला शाखाहरुले विभिन्न कार्यक्रम गर्दै स्थापना दिवस मनाएका हुन् ।

झापामा पछिल्लो समय रगतको अभाव भएको भन्दै सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाएको इक्यान झापाका अध्यक्ष मिलन ओलीले बताए । रक्तदान जीवनदान भन्ने नाराका साथ बिर्तामोड स्थित दुर्गा मन्दिर परिसरमा आयोजना गरिएको रक्तदानमा ४० जनाभन्दा धेरैले रक्तदान गरेका छन् ।  झापा शाखाले यस पटक रगत अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

इक्यान झापाका अध्यक्ष ओलीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईं, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, इक्यान झापाका उपाध्यक्ष एवम् बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी, नेपाल औषधी ब्यवसायी संघका महासचिव जीवन खड्का, नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराई (मामा), इक्यान झापाका निर्वतमान अध्यक्ष सुमन शर्मा जम्मरकट्टेलसहित इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।