झापा । 

वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीलाई शाखा सञ्चालनको अनुमति चारदिन भित्र बुझाउन आग्रह गरेको छ । म्यानपावर कम्पनीलाई शाखा सञ्चालनको नयाँ अनुमति नदिएको वैदेशिक रोजगार विभागले यसअघि शाखा सञ्चालनको अनुमति पाएका म्यानपावर कम्पनीलाई चार दिनभित्र विवरण बुझाउन आग्रह गरेको हो । 

विभागले सूचना जारी गर्दै हाल कुनैपनि म्यानपावर कम्पनीलाई शाखा कार्यालय सञ्चालनको अनुमति नदिएको भए पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट शाखा सञ्चालनको अनुमति पाएको भनी केही समूहले प्रचारप्रसार गरेकोले भ्रममा नपर्न आग्रह गरेकोे छ ।

 त्यसैगरी विभागले वैदेशिक रोजगार व्यवसायीहरूलाई भदौ १२ गतेभित्र विभागबाट शाखा सञ्चालनको अनुमति पाएको भए त्यसको विवरण बुझाउन भनेको छ । विवरणमा शाखा अनुमति लिएको मिति, शाखा कार्यालय सञ्चालन मिति, शाखा कार्यालयको पूरा ठेगाना, उक्त कार्यालयको फोन नम्बर र इमेल एड्रेस, शाखा प्रमुखको नाम, शाखा प्रमुखको नयाँ र पुरानो दुई पूरा ठेगाना र मोबाइल नम्बर विभागको इमेलमा पठाउनु पर्ने बताएको छ ।

विभागले २७ वटा म्यानपावर कम्पनीका मात्रै आधिकारिक शाखा रहेका जनाएको छ । विभागबाट शाखा संचालन अनुमति पाएका म्यानपावर कम्पनीले शाखा कार्यालय सञ्चालन गरेका भएपनि संस्थागत रुपमा इजाजतपत्र नलिएकाहरूले पनि सानो कोठामा म्यानपावर कम्पनीको  शाखा हो भन्दै पासपोर्ट र रकम संकलन गरेकोे पाइएपछि विवरण माग गरिएको विभाग स्रोतले बताएको छ ।