भद्रपुर । 

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशसस्तरीय खेलाडी छनोट प्रतियोगितामा  झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा शनिवारदेखि जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता शुरु भएको छ । 

झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा मेची रङ्गशालामा औपचारिक रुपमा प्रतियोगिता शुरु भएको हो ।समितिका अध्यक्ष तथा कराते प्रशिक्षक भेषराज भण्डारी (प्रशान्त)–को अध्यक्षतामा आयोजित एक समारोहका बीच प्रदेश नं १ को खेलकुद विकास बोर्डका सदस्य सचिव एवम् पूर्व खेलाडी हंशराज वाग्लेले पानसमा दीप प्रज्ववन गरेर प्रतियोगिता उद्घाटन गरे । 

उद्घाटन समारोहमा प्रदेश खेलकुद विकास बोर्डका सदस्य शैलेश विष्ट, प्रदीप ढकाल, भद्रपुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष गौरव सुब्बा ‘मनोज’, झापा उद्योग संघका उपाध्यक्ष दिपेश ढकाललगायत, समतिका पदाधिकारी–सअस्यहरु, विधागत संघ–संगठनका अध्यक्ष तथा प्रतिनिधि, खेल प्रशिक्षकहरुको उल्लेख्य सहभागिता रहेको प्रशिक्षण विभभाग प्रमुख कालु मेचेले जानकारी दिए । 

पहिलो दिन मेची रंगशालामा खोखो र आर्चरी तथा बाहुनडाँगीमा भलिबलका खेलहरु हुने भएका छन् भने जुडो–उसुका प्रदर्शनीहरु भएको समितिका सदस्य एवम् प्रवक्ता दुर्वासा कार्की ‘जगन’ले जानकारी दिए ।

झण्डै ९ सय खेलाडी सहभागी हुने बताइएको जिल्लास्तरीय यस प्रतियोगिताको पहिलो दिनकोे खेलबाट खोखोको महिला÷पुरुष र महिला भलिबलका खेलाडीहरु छनोट भएको प्रवक्ता कार्कीले बताए । हक्कीका पनि खेलाडी छनोट अन्तिम चरणमा पुगेको छ भने प्रतियोगितामा पहिलो पटक समावेश गरिएको आर्चरीका लागि पनि खेलाडी तयार रहेको बताइएको छ ।

प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, भारत्तोलन, टेबल–टेनिस, कबड्डी, कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, वास्केटबल, बुद्धिचाल, आईटीएफ तेक्वान्दो, सुटिङ, खो खो, पौडी, शारीरिक सुगठन, सेपात्राका, जिम्नाष्टिक, हक्की, साइक्लिङ र आर्चरीका खे समावेश गरिएको छ । आइतबारदेदि जिल्लाका विभिन्न स्थानमा छुट्टाछुट्टै विधाका खेलहरु हुने कार्यालय प्रमुख शिवुकुमार नेम्बाङले जानकारी दिए ।