भद्रपुर । 

झापामा शनिबार (आज) देखि झण्डै एक साता खेलकुदमय हुने भएको छ । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशसस्तरीय खेलाडी छनोट प्रतियोगितामा  झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा शनिारदेखि विभिन्न २६ वटा विधामा खेलाडीहरुबीच प्रतिस्पर्धा हुने भएको छ । 

झापा जिल्ला खेलकुद विकास समितिले झापा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिताका लागि सबैखाले तयारी अन्तिम चरणमा पुर्याएको समितिका अध्यक्ष एवम् करातेका प्रशिक्षक भेषराज भण्डारी ‘प्रशान्त’ले जानकारी दिए । 

‘आगामी महिना पोखरामा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता र यही महिनाको दोस्रो सातादेखि हुने १ नं प्रदेश स्तरीय छनोट प्रतियोगितालाई मध्यनजर गरेर झापामा खेलाडी छनोटका लागि प्रतियोगिता हुँदैछ’, अध्यक्ष भण्डारीले भने– ‘बढीभन्दा बढी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने र बढीभन्दा बढी मेडल ल्याउने गरी तयारी गरिएको छ ।’

पछिल्लो समय लोकप्रिय बन्दै गएको खोखो खेलबाट प्रतियोगिता शुभारम्भ हुने बताइएको छ । पहिलो दिन मेची रंगशालामा खोखो र आर्चरी तथा बाहुनडाँगीमा भलिबलका खेलहरु हुने आयोजकले जनाएको छ ।

झण्डै ९ सय खेलाडी सहभागी हुने जिल्लास्तरीय यस प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, भारत्तोलन, टेबल–टेनिस, कबड्डी, कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, वास्केटबल, बुद्धिचाल, आईटीएफ तेक्वान्दो, सुटिङ, खमे खमे, पौडी, शारीरिक सुगठन, सेपात्राका, जिम्नाष्टिक, हक्की, साइक्लिङ र आर्चरीका खेलहरु हुने झापा जिल्ला खेलकुद समितिका सचिवालय सदस्य तथा प्रशिक्षक दुर्गाराज निरौलाले जानकारी दिए । आर्चरी र साइक्लिङलाई पहिलो पटक जिल्ला स्तरीय प्रतियोगितामा समावेश गरिएको पनि जनाइएको छ । 

प्रतियोगितालाई बढीभन्दा बढी सहभागितामूलक प्रतिफलमुखी बनाउने गरी समितिका पदाधिकारी, प्रशिक्षकहरु, व्यवस्थापकीय पक्ष लागिपरेको समितिका प्रशिक्षण विभाग प्रमुख कालु मेचेले जानकारी दिए ।