काँकडभिट्टा ।

साढे तीन वर्षपछि काँकरभिट्टा माविमा व्यवस्थापन समिति गठन भएको छ । मेचीनगरका राजनीतिक दलहरुको सहमतिपछि बुधबार काँकरभिट्टा माविमा विद्यालय व्यवस्थापन समिति गठन भएको हो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट भवानी केरुङ सर्वसम्मत चयन भएका छन् । ९ जनाको समितिमा ४ जना सदस्य यसअघि अभिभावकबाट मनोनित भएका छन् । जस्मा अभिभावकबाट सदस्यहरुमा होमबहादुर विष्ट, मानबहादुर गिरी, रेणुका कोजु श्रेष्ठ र सुस्मिता भट्टराई खड्का मनोनित भएका हुन् ।

त्यस्तै बुधबार २ जना सदस्यलाई मनोनित गरिएको छ । जस्मा भवानी केरुङ र हेमा सिटौला छन् । यसैगरी सदस्यहरुमा शिक्षक प्रतिनिधि तिर्थ घिमिरे कोइराला, वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ र सदस्य सचिवमा प्रधानाध्यापक हरिप्रसाद न्यौपाने चयन भएका छन् ।

विद्यालय व्यवस्थापन समितिको आज बसेको वैठकले केरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको प्रधानाध्यापक न्यौपानेले बताए । समितिको कार्यकाल ३ वर्षको रहनेछ । २०७३ माघमा तमर राईको अध्यक्षतामा समिति गठन भएको थियो । उहाँको निधन भएपछि नयाँ समिति गठन हुन सकेको थिएन । उहाँको समिति २०७६ सालमा सकिएको थियो ।

दलिय भागबण्डा नमिलेका कारण विद्यालय व्यवस्थापन समिति गठन हुन सकेन । समिति गठन हुन नसकेको कारण विद्यालयका हरेक गतिविधि प्रभावित बनेको थियो । यसअघि राजनीतिक दलको सहमति अनुसार कांग्रेसबाट अध्यक्ष राईको कार्यकालपछि एमालेको भागवण्डा थियो । एमालेको अध्यक्ष हुनेबेला पार्टी फुट्यो । पार्टी फुटिसकेपछि विद्यालयमा राजनीति सुरु भएको थियो । साढे ३ वर्षपछि व्यवस्थापन समितिले पूर्णता पाएको छ ।