बिर्तामोड । 

सरकारले स्वास्थ्य बीमाको करोडौं रकम निजि अस्पताललाई भुक्तानी नदिएपछि सेवा लिइरहेका सर्वसाधारणमा असर परेको भन्दै झापाको बिर्तामोडका युवाहरुले विरोध प्रर्दशन गर्ने भएका छन् । 

बिर्तामोडका युवाहरुले सोमबार (आज) पत्रकार भेटघाट गर्दै युवा मोर्चा झापा गठन गरी स्वास्थ्य बिमाको रकम निजि अस्पताललाई भुक्तानीका लागि शान्तिपूर्ण बिरोध प्रदर्शन गर्ने भएका हुन् । 

उनीहरुले आज जिल्ला प्रशासन कार्यालय झापामार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने र भोली (मंगलबार) बिर्तामोडमा शान्तिपूर्ण बिरोध र्याली गर्ने जानकारी दिएका छन् । उनीहरुका अनुसार मंगलबार बिर्तामोडको मुक्तिचोकमा भेला भएर ५ सय बढी युवाहरुको समुहले मुक्तिचोकदेखि बिर्ताबजारसम्म शान्तिपूर्ण र्याली प्रदर्शन गर्नेछन् । 

यस अभियानलाई देशब्यापी बनाउने उदेश्य रहेको पत्रकार भेटघाटमा उपस्थित युवाहरु मध्येका नितेश डाँगीले बताएका छन् । मानिसको स्वास्थ्य जस्तो संवेदनशील बिषयमा सरकारले खेलवाड गरेको उनीहरुको भनाई छ । प्रदेश नं १ का तीनवटा ठूला अस्पतालले आजदेखि स्वास्थ्य विमा कार्यक्रम बन्द गरेका छन् । स्वास्थ्य बीमा सुविधा बन्द हुँदा उपचारमा आउने हजारौं विरामी समस्यामा परेका छन् ।

बीमा सुविधा वापतको उपचार सेवा बन्द हुँदा दैनिक १५ सय विरामी प्रभावित भएका बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।  उनका अनुसार स्वास्थ्य बिमा वापतको नोबेलको ५५ करोड, विराटको ४६ करोड र बीएण्डसी अस्पतालको ४४ करोड रुपैंयाँ भुक्तानी दिन बाँकी छ ।

भुक्तानीका लागि पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएपछि बीमा सेवा बन्द गरिएको अस्पतालहरुले जनाएका छन्  । महिनौंसम्म उपचारको ठूलो रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समेत असर परेको भन्दै अस्पतालहरुले स्वास्थ्य बिमा सेवा बन्द गरेको हो ।

बीमा बोर्ड र सरकारसँग अहिलेसम्मको बक्यौता उठाएपछि दोस्रो चरणमा बीमा कार्यक्रमलाई निरन्तरता दिने नदिने छलफल हुने अस्पतालहरुको भनाई छ । पत्रकार भेटघाटमा बिर्तामोडका युवाहरु माधवकुमार झा, नितेश डाँगी, बिक्रम सुब्बा, बिजय चौधरीलगायतको उपस्थिति रहेको थियो ।