बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिकाले पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिदै शिक्षालाई निःशुल्क बनाउने भएको छ । नगरलाई शिक्षाको अव बनाउने उदेश्यले बिद्यालयका भौतिक संरचना तयार पार्दै कक्षा १२ सम्म निःशुल्क गरिने नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताएका छन् । आगामी पाँच वर्षभित्रमा कक्षा–१२ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउने योजनासहित यसै वर्षदेखि अभियान शुरु गरिएको उनले बताए ।
रिपोर्टस क्लब नेपाल मेचीको आयोजना तथा बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा शुक्रवार (आज) नगरमा भएको ‘बजेटको प्राथमिकता र कार्यान्वयन पक्ष’ विषयक जनप्रतिनिधिसँगको साक्षात्कार कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र संग्रालाले आगामी आर्थिक वर्षमा पूर्वाधार निर्माणसँगै शिक्षालाई निःशुल्क बनाइने बताएका हुन् ।
विगतका कार्यक्रमलाई निरन्तरता दिँदै मावनीय आवश्यकता पूरा गर्ने योजनासहित अघि बढ्ने नगर प्रमुख संग्रौलाले बताए । प्राथमिकताका विषय धेरै भए पनि पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिएको उनको भनाई थियो । बजेट अभावका कारण धेरै काम गर्ने अवस्था नरहेको उनले बताए ।
पूर्वाधारपछि नगरले शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राखेको छ । अत्याधुनिक नगर अस्पताल निर्माण गर्ने, एक हजार विपन्नको स्वास्थ्य बिमा गर्ने लगायतका महत्वपूर्ण योजना निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले नगर क्षेत्रमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताए । नगरबाट उत्पादित फोहोर बिर्सन गर्ने स्थानको सम्झौता साउन १ गतेदेखि सकिन लागेकोले फोहोर व्यवस्थापन ठूलो चुनौतीको रुपमा देखिएको उनको भनाई थियो । कार्यक्रममा वडाध्यक्ष अग्नि पाण्डेले फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधानमा सबै नगरबासी र सरोकारवाला निकाय जुट्नुपर्ने बताए ।
बिर्तामोडको कृषिथोकमा पार्किङसहितको बहुतले व्यावसायिक भवन बनाउनका लागि डीपीआर बनाउने कार्य शुरु गरिएको जनाइएको छ । नगरपालिकाले एक करोड रुपैयाँ विनियोजन समेत गरेको छ । त्यस्तै, बिर्ता बजारमा छ करोडको लागतमा व्यावसायिक भवन बनाउने काम शुरु भइसकेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश कमिटी सदस्य लीलाराज झापालीले पनि आफ्नो भनाई प्रस्तुत गरेका थिए । कार्यक्रममा क्लबका अध्यक्ष शेखर सेडाईंले अध्यक्षता गर्दै स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै क्लवले तयार पारेको १२ बुँदे प्रश्न प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन क्लबका उपाध्यक्ष तुलसीप्रसाद निरौलाले गरेका थिए ।