सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकाण्३ स्थित सुरुङ्गाको कनकाई माध्यमिक विद्यालयमा लामो समयदेखि शिक्षण पेशामा आबद्ध तीर्थराज खरेल सोही विद्यालयको सहायक प्रधानाध्यापक पदमा नियुक्त भएका छन् ।
खरेललाई गत असार १६ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीको अध्यक्षतामा बसेको विद्यालय ब्यवस्थापन समितिको बैठकले विद्यालयको सहायक प्रधानाध्यापक पदमा नियुक्त गरेको हो ।
विद्यालयका प्रअ कर्णबहादुर डाँगीको सिफारिसका आधारमा खरेललाई सहायक प्रअमा नियुक्त गरेको सोही विद्यालयका शिक्षक–अभिभावक संघ (पीटीए) का अध्यक्ष रमेश शेर्पाले जानकारी दिए । सो विद्यालयमा सूचना अधिकारीको रूपमा क्रियाशील खरेलले विद्यालयका प्रअ डाँगीलाई प्रशासनिक कार्यमा सहयोग पु¥याउँदै आएका थिए ।
भृकुटी मावि दुर्गापुरबाट प्राथमिक र कनकाई माविबाटै माध्यमिक तहको शिक्षा पुरा गरेका खरेल बिराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसबाट अंग्रेजी विषयमा स्नातक पुरा गरी २०४९ सालदेखि सुरुङ्गास्थित पशुपति अंग्रेजी माविमा माध्यमिक शिक्षकको रूपमा शिक्षण सेवामा प्रवेश गरेका थिए ।
३ वर्ष पशुपतिमा सेवा गरी त्यसपछि २०५९ सालसम्म सुरुङ्गामै सञ्चालित श्री हरिकुल नमुना माविमा कार्यरत रही २०५९ सालदेखि कनकाई माविमा माध्यमिक तहमा अंग्रेजी शिक्षकको रूपमा अस्थायी दरबन्दीमा प्रवेश गरेका थिए ।
२०६३ सालमा स्थायी भई पदस्थापनका क्रममा कनकाई माविबाट अलग्गिनु परेको थियो । १ महिने विद्यालय व्यवस्थापनसम्बन्धी प्रधानाध्यापकको तालिम, १ महिने पेशागत विकास तालिम लगायतका तालिम लिएका खरेलसँग प्रधानाध्यापक चलाएको अनुभव समेत रहेको छ । उनले मेचीनगरको धाइजनस्थित बलभद्र जनता माविमा प्रधानाध्यापकको जिम्मेवारी लिएर विद्यालयलाई स्तरोन्नति गरी कक्षा १२ सम्म पु¥याउन स्थानीय शिक्षासेवीहरूसँग मिली महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
उनी केही समयपछि २०६६ सालदेखि पुनः कनकाई माविमै सरुवा भई हालसम्म कनकाईमै कार्यरत रहेका छन् । २०७६ सालमा शिक्षक सेवा आयोगबाट लिइएको परीक्षाबाट माध्यमिक तह द्वितीय श्रेणीमा पदोन्नति भएका खरेलले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा एम्ए, एम्एड्सम्मको शिक्षा हासिल गरेका छन् । हाल उनी कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका क्याम्पस सभा सदस्य तथा सुरुङ्गास्थित युनिक बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्षका रूपमा क्रियाशील छन् । दर्शन र राजनीतिक चिन्तनमा हरदम चासो राख्ने खरेल शिक्षा क्षेत्रमा नवीनतम् प्रविधिको उपयोग गर्नुपर्ने र सहभागितामूलक शिक्षामा विश्वास राख्छन् ।
सहायक प्रअको रूपमा नियुक्त भइसकेपछि खरेलले विद्यालयको शैक्षिक, भौतिक, प्रशासनिक, व्यवस्थापकीय क्षेत्रमा समस्त अग्रजहरूको निर्देशनलाई शिरोपर गर्दै प्रधानाध्यापकको भरपर्दो सहयोगीको रूपमा विद्यालय व्यवस्थापन समिति र पीटीएले दिएका जिम्मेवारीहरू पुरा गर्दै विद्यालयको उन्नयनमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।