लक्ष्मीपुर । 

 झापाको बिर्तामोड–२ को सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दुवै अभिभावक गुमाएका एक बालकको अध्ययनमा सहयोग गर्दै आएको छ । 

संस्थाको संरक्षण कार्यक्रम अन्तरगत कनकाई नगरपालिका वडा नं. ८ स्थित  खाडी बस्तीका ११ बर्षिय बालक बिराज आचार्यलाई कक्षा १२ सम्म निःशुल्क पढाउने भएको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिए । 

बालकका बुवा युवराज आचार्य र आमा बिष्णुमाया ढुङ्गेल आचार्यको घातक रोगले मृत्यु भएको थियो । बालकले ३ बर्ष अघि आफ्ना दुवै अभिवावक गुमाएका थिए । बालका मृतक आमाबुबा दुवै साकोसका सदस्य भएका कारण उनीहरुको मृत्युपछि छोरालाई कक्षा १२ सम्म संस्थाको संरक्षण छात्रबृत्ति कार्यक्रम अन्तरगत निःशुल्क अध्ययन गराउने साकोसका लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारतीले बताए । 

बालक आचार्य कनकाइको अरुणोदय इग्लिस बोडिङ स्कुलमा हाल कक्षा ५ मा अध्ययनरत रहेका छन् । बुबा आमाको निधनपछि २०७७ बैशाखदेखि बालकलाई साकोसको लक्ष्मीपुर सेवा केन्द्र मार्फत अध्यापन गराइदै आएको सेवा केन्द्र प्रमुख भारतीले जानकारी दिए । साकोसले बालक आचार्यको पढाईको लागि बार्षिक ५७ हजार ८ सय रुपैयाँ बिद्यालयलाई दिदै आएको छ भने उनलाई कक्षा १२ सम्म संस्थाले निःशुल्क रुपमा पढाउने भारतीले जानकारी दिए । साकोसले ३ बर्षदेखि बालक आचार्यको पढाई खर्च व्यहोर्दै आएको बताइएको छ । 

बिद्यालयका प्रिन्सिपल अरुण राजवंशीका अनुसार बालक आचार्य पढाईमा मेहनती, अब्बल र उत्कृष्ट छन् । उनले कक्षा ४ बाट ५ मा प्रवेश गर्दा ३.२४ जिपिए ल्याउन सफल भएका छन् । बालकको लताकपडा, नास्ता, स्कुल फि, वस भाडा, पाठ्यपुस्तकलगायत अन्य अतिरिक्त शुल्क संस्थाले बुझाउने गरि अभिभावकको रुपमा संस्थाले अध्यापन गराउँदै गरेको लक्ष्मीपुर सेवा केन्द्र प्रमुख भारतीले बताए । संस्थाले परामर्श सेवा समेत दिइरहेको बालक आचार्य  हाल काकी नाता पर्ने दुर्गादेवी आचार्यसँग बस्दै आएका छन् ।