बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिकाले आयोजना गरेको बौद्विक प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत विद्यालय विज्ञान तथा गणित प्रदर्शनी प्रतियोगितामा मोहनमाया माध्यमिक विद्यालय प्रथम भएको छ । 

बिहिबार (आज) आयोजना गरीएको नगरस्तरीय बौद्विक प्रतिभा प्रदर्शनीमा मोहनमाया माध्यमिक विद्यालय प्रथम भएको हो । प्रतियोगितामा वाल्मिकी फाउण्डेसन द्वितीय, तक्षशिला फाउण्डेसन तृतीय र कन्काई आधारभुत माध्यमिक विद्यालय सन्तवना भएका छन् । विजेता विद्यालयहरुले क्रमश १० हजार, ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै नगरपालिकाले आयोजना गरेको अन्तर विद्यालय कविता प्रतियोगितामा वीर अमरसिंह माध्यमिक विद्यालयका प्रकाश निरौला प्रथमभएका छन् । यस्तै एभरेष्ट स्मार्ट एकाडेमी फाउण्डेसनका जस्मिन कडरिया द्वितीय, बालकल्याण आधारभुत माध्यमिक विद्यालयका स्वास्तिका उप्रेती तृतीय र इडन गार्डेन एकाडेमी फाउण्डेसनका इश्वर उप्रेती सान्तवना बनेका हुन् ।  विजेताहरुले क्रमश ५ हजार, ४ हजार, ३ हजार र १ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै बौद्विक प्रतिभा पहिचान कार्यक्रम अन्तर्गतको अन्तर विद्यालय चित्रकला प्रतियोगितामा सेन्टजेभियर्स स्कुलकी स्र्मण लिवाङ्ग प्रथम भए । प्रतियोगितामा न्युटन्स एजुकेशन एकाडेमीकी साल्भी शिवाकोटी द्वितीय,क्रिएटिभ इङ्गलिस एकाडेमीकी फिजा अनसारी तृतीय र मोहनमाया माध्यमिक विद्यालयका राज मल्लिक सान्तवना भएका थिए । विजेता प्रतियोगिहरुले क्रमश ५ हजार, ४ हजार, ३ हजार र १ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

कार्यक्रमका विजेताहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पुरस्कार हस्तान्तरण गरेका थिए । देवी माध्यमिक विद्यालयमा आयोजना गरिएको एक कार्यक्रमका विच विजेता सबैलाई पुरस्कार प्रदान गरिएको हो । विज्ञान तथा गणित प्रदर्शनी देवी माध्यमिक विद्यालयमा बिहीबार र कविता तथा चित्रकला प्रतियोगिता न्युटन्स एजुकेशन एकाडेमीमा गत असार १३ गते आयोजना गरिएको हो । विज्ञान तथा गणित प्रदर्शनीको नगरप्रमुख प्रसाई, उपप्रमुख संग्रौला, वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाई, कार्यपालिका सदस्य यामुना आचार्य, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतले अवलोकन गरेका थिए । 

प्रतियोगितात्मक कार्यक्रममा नगरपालिका भित्रका सरकारी र निजि गरि ३७ वटा विद्यालयले सहभागिता जनाएका थिए । वार्षिक शैच्छिक क्यालेन्डर अनुसार कार्यक्रमको आयोजना गरीएको नगरपालिकाले जनाएको छ ।