झापा । 

जिल्ला भलिवल संघ सुनसरीको अध्यक्षमा बिक्रम थापा चयन भएका छन् ।  संघको आज (आइतवार) भएको पाँचौ अधिवेशनले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । 

समितिको उपाध्यक्षमा दिलिप श्रेष्ठ र ढुण्डीराज गुरागाई, महासचिवमा माधब सापकोटा, र कोषाध्यक्षमा लोकेन्द्र खड्का सर्वसम्मत् चयन भएको नेपाल भलिवल संघ केन्द्रिय सचिव तथा जिल्ला तथा प्रदेश नं. १ निर्वाचन संयोजक मदन खड्काले बताएका छन् । 

त्यस्तै सदस्यमा वासु न्यौपाने, सवुरलाल चौधरी, अनुरोध थापा, गोबिन्द पौडेल, बुद्धिबहादुर पौडेल र प्रिति चौधरी निर्विरोध चयन भएका छन् । 

प्रदेश अधिवेशनका लागि प्रत्येक जिल्लाबाट दुईजना र केन्द्रिय अधिवेशनका लागि एकजना प्रतिनिधिसमेत छनौट गरिने छ । प्रदेशको अधिवेशन आगामी असार १० गते हुनेछ भने त्यसका लागि असार ७ गतेसम्ममा प्रदेश नं. १ का १४ वटै जिल्लाको अधिवेशन सम्पन्न गर्ने केन्द्रिय सचिव खड्काले बताएका छन् । 

नेपाल भलिवल संघ केन्द्रिय सचिव तथा जिल्ला तथा प्रदेश नं. १ निर्वाचन संयोजक मदन खड्काको अध्यक्षतामा भएको अधिवेशनमा जिल्ला खेलकूद समिति सुनसरीका अध्यक्ष दीपक राईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेपाल भलिवल संघ पूर्व केन्द्रिय सदस्यलेखनाथ पराजुली, पूर्व राष्ट्रिय खेलाडी तिर्थराज अधिकारी, शैलेन्द्र श्रेष्ठ, खेम राई, जिल्ला खेलकूद समिति सुनसरीका पूर्व अध्यक्ष अनुरोध थापालगायतको उपस्थिति रहेको जनाइएको छ ।