बिर्तामोड ।
बिर्तामोड नगरपालिकाले नगर अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत फार्मेसी सञ्चालनका लागि ई–विडिङ मार्फत आव्हान गरेको ठेक्कामा छनौटमा परेर वैंकमा रकम जम्मा गरेको कालिका ड्रग डिष्ट्रिव्यूटरसँग सम्झौता गर्नु पर्ने सञ्चालकले माग गरेका छन् ।
ठेक्का स्वीकृत भएर रकमसम्म वैंकमा जम्मा गरेको बताउँदै कालिका ड्रग डिष्ट्रिव्यूटरलाई विभिन्न वहानामा आलटाल गरी सम्झौता नगरेको सञ्चालक खेमराज बस्नेतले बताएका छन् ।
ठेक्का आव्हान भई बिर्तामोड नगरमा सञ्चालीत बिर्तामोड नगर अस्पतालले सञ्चालन गर्ने बिमा कार्यक्रम अन्तरगतको औषधी बिक्री बितरणका लागि एकबर्षको कोठा भाडा वापत रकम दिएको भए पनि अझै सम्झौता नगरेको भन्दै कालिका ड्रग डिष्ट्रिव्यूटरले आपत्ति जनाएको हो ।
औषधी बिक्री वितरणको लागि खुलाएको शिलबन्दी दरभाउपत्र प्रक्रियामा छनौटमा परी एक बर्षअघि नगरपालिकाको एनआईसी एशिया बैंकको खातामा कालिका ड्रग डिष्ट्रिव्यूटरका सञ्चालक खेमराज बस्नेतले एकबर्ष कोठा भाडा बापतको रकम ३६ लाख ६० हजार पाँच रुपैयाँ वैंकमा जम्मा गरेको बताएका छन् ।
बस्नेतले शुक्रवार (आज) बिर्तामोडमा पत्रकारहरुसँगको भेटघाटका क्रममा बिर्तामोड नगरपालिकाको खाता नं. २४६सीए ५००१८८७००५ मा उक्त रकम जम्मा गरेको भौचर प्रमाण समेत देखाएका छन् ।
गत २०७८÷०३÷०३ गते उक्त रकम जम्मा गरी बैंक भौचर लिएर सम्झौता गर्न जाँदा नगरले सझौता गर्न आलटाल गरेको बस्नेतको भनाई छ । उनले नगरले हालसम्म सम्झौता नगराएको र नगर आफैले फार्मेसी सञ्चालन गरेको जानकारी प्राप्त भएकाले उक्त कार्यप्रति ध्यानाकर्षण भएको भन्दै गत जेठ २३ गते स्वीकृत भएको ठेक्का सम्झौता गरिपाउँ भनि नगर प्रमुख, वडा नं. ३ कार्यालयलाई निवेदन समेत दिएका थिए । उनले बैंकबाट १२ प्रतिशतको ब्याजमा ऋण निकालेर नगरको वैंक खातामा रकम जम्मा गरेको बताए ।
‘नगरबाट तपाईको ठेक्का स्वीकृत भयो भनेर इमेल आयो, सम्झौता गर्न बोलाइयो’ सञ्चालक बस्नेतले भने ‘तर, आइटी कर्मचारीलाई कोभिड–१९ भएका कारण त्यतीवेला सम्झौता हुन पाएन ।’ उनले फेरी स्थानीय तहको निर्वाचन आएको र आफुले गएर नगरमा कुरा राख्दा निर्वाचनपछि सम्झौता गरिने तत्कालीन उपप्रमुख तथा हाल नगर प्रमुख पवित्रा महतरा प्रसाईले आश्वासन दिएको बताए । उनले बैंकको १२ प्रतिशत ब्याज अनि स्वीकृत भएको ठेक्का सम्झौता नहुँदा नगरमा गएर झुण्डिएर मर्ने अवस्था भएको दुःखेसो पोखे ।
सञ्चालक बस्नेतले नगरले स्वीकृत गरिसकेको ठेक्काको सम्झौता गर्नु पर्ने अन्यथा एकबर्षको बैंकको ब्याज १२ प्रतिशतले हिसाव गरेर रकम फिर्ता गर्नु पर्ने माग समेत गरेका छन् । उनले आफुले औषधी संघगलगायतका सम्बन्धीत निकायमा पनि आफु अन्यायमा परेको भन्दै न्यायका लागि पत्राचार समेत गरेको जनाए । उनले नगर अस्पतालबाट स्वास्थ्य बिमा अन्तरगत नागरिकले पाउनु पर्ने औषधी नपाइरहेको भन्दै ब्यवसायीक प्रयोजनका लागि बैंकबाट कर्जा लिएर नगरको बैंक खातामा जम्मा गरेको बताए । उनले स्वीकृत भएर सम्झौता नहुँदा लामो समयसम्म फार्मेसी सञ्चालन गर्न नपाएको साथै पैसा पनि फिर्ता नपाएपछि न्यायका लागि सञ्चारकर्मी समक्ष आएको बताएका छन् ।
यता बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजिव बिष्टले बिर्तामोड नगरमा आएको ४ महिना मात्र भएको बताएका छन् । कर्मचारी हेरफेर भएका कारण ढिलाई भएको हुनसक्ने उनको भनाई छ । त्यस बिषयमा सम्पूर्ण कुरा यसअघिका स्वास्थ्य शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतााई जानकारी भएको हुन सक्ने बताए । यो बिषयमा नगरपालिकामा चाँडै छलफल हुने आफुले बुझेको उनले भनाई छ ।