झापा ।
जिल्ला भलिवल संघ सोलुखुम्बुको पाँचौ अधिवेशनले बिहीवार दीपक किराँतीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा मिङमार दिरी शेर्पा र अर्पाना राई, महासचिवमा योगेश श्रेष्ठ, र कोषाध्यक्षमा नरमाया राई सर्वसम्मत् चयन भएको नेपाल भलिवल संघ केन्द्रिय सचिव तथा जिल्ला तथा प्रदेश नं. १ निर्वाचन संयोजक मदन खड्काले जानकारी दिए ।
त्यस्तै सदस्यमा कामी निमा शेर्पा, गोकुल राई, दिनेश नाछिरिङ, राम खड्का, निशा राई र अर्जुन रोका निर्विरोध चयन भएका छन् । त्यसैगरी अधिवेशनले प्रदेश प्रतिनिधिमा राम खड्का र दीपक किराँतीलाई छनौट गरेको जनाइएको छ भने एकजना केन्द्रिय प्रतिनिधि बैठकले छनौट गर्नेछ ।
प्रदेश अधिवेशनका लागि प्रत्येक जिल्लाबाट दुईजना र केन्द्रिय अधिवेशनका लागि एकजना प्रतिनिधिसमेत छनौट गरिने खड्काले बताए । प्रदेशको अधिवेशन आगामी असार १० गते हुनेछ भने त्यसका लागि असार ७ गतेसम्ममा प्रदेश नं. १ का १४ वटै जिल्लाको अधिवेशन सम्पन्न गर्ने केन्द्रिय सचिव खड्काले बताएका छन् ।
दीपक किराँतीको अध्यक्षतामा भएको अधिवेशनमा जिल्ला खेलकूद समिति सोलुखुम्बुका अध्यक्ष नरेन्द्र थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको संघका केन्द्रिय सचिव तथा प्रदेश नं. १ निर्वाचन समिति संयोजक खड्काले बताए ।