झापा । 

अमेरीकाको हेरिस्वर्गमा हुने अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठानको पाँचौं श्रृखलाको कार्यक्रम सार्वजनिक गरिएको छ । विश्व भूटानी साहित्य समाज (जिबिएलओ) बिभुसास हेरिस्वर्ग च्याप्टरको आयोजनामा हुन लागेको अनुष्ठानको बिषयमा डिजिटल प्लेटफर्म जुम मार्फत पत्रकारलाई जानकारी दिइएको हो ।

समाजको विकासका लागि भाषा नै प्रमुख बिषय भएकोले भाषाको संरक्षण, सम्बर्धन र बिकासले समाजको पनि सार्वभौम बिकास हुने भन्दै कार्यक्रमलाई सफल बनाउन विश्वभरी रहेका नेपाली भाषी साहित्यकारहरुलाई एकै थलोमा भेला पार्न लागिएको आयोजक संस्था जिबिएलओका संस्थापक अध्यक्ष डेन्जोम साम्पाङले जानकारी दिएका छन्।

अमेरीकाको हेरिस्वर्गमा आगामी जुलाई २९ देखी ३१ तारिखसम्म तीन दिन सञ्चालन हुने कार्यक्रममा पुस्तक बिमोचन, कार्यपत्र, सिद्धान्त माथि बहस, साहित्यिक साँझसहित साँस्कृतिक साँझ र स्रष्टा भ्रमण गरि बिभिन्न उत्कृष्ट कार्यक्रमहरु राखिएको जिबिएलओका अध्यक्ष कर्ण गुरुङले जानकारी दिएका छन् । साथै यस पटकदेखी नेपाली साहित्यमा बिशिष्ट योगदान गर्ने अग्रजलाई सम्मान समेत गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । पहिलो पटक अग्रज साहित्यकार लीलबहादुर क्षेत्रीलाई लाईफटाईम अचिबमेन्ट अवार्ड दिन लागिएको जनाइएको छ । 

कार्यक्रममा नेपालमै रहेर नेपाली भाषाको क्षेत्रमा विश्व समुदाय समक्ष परिचित प्रा. डा. गोविन्दराज भट्टराई, सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङ, साहित्यकार मुक्ति बराल लगायतको सहभागीता रहने जिविएलओका महासचिव पातलो अन्तरेले जानकारी दिएका छन् ।  कार्यक्रममा भारतको सिक्किम विश्वविद्यालयको भाषा तथा सहित्य बिभागका डिन प्रा.डा.कविता लामाले कार्यपत्र प्रस्तुत गर्ने छिन् भने भारत, न्युजिल्यण्ड, क्यानाडा, मेक्सिकोलगायतका देशहरुबाट समेत सहभागीता रहने कार्यक्रमका प्रचार संयोजक अर्जुन प्रधानले जानकारी दिए ।

ppp