बिर्तामोड ।
झापाको बिर्तामोड–२ स्थित चारपानेमा बुद्ध हेल्थ प्रमोशन एण्ड एजुकेशन सेन्टर राजविराज सप्तरीको आयोजना तथा स्वास्थ्य कार्यालय झापाको सहयोगमा परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु सम्वन्धी एकदिने पत्रकारसँग अन्तरक्रिया भएको छ ।
नौ वटा जिल्लामा गरिने उक्त अन्तरक्रिया कार्यक्रम अन्तरगत आज (मंगलवार) झापामा गरिएको हो । सञ्चार माध्यमहरु मार्फत जनचेतना अभिबृद्धि गर्न सरोकारवालाहरुसँग समन्वय गर्दै उपलब्ध स्वास्थ्य सेवा प्रयोग गरी परिवार नियोजन सुरक्षित मातृत्व तथा नवजात शिशु मातृ, मुत्युदर, शिशु मृत्युदर, बालमृत्युदर कम गर्ने उदेश्यले अन्तरक्रिया आयोजना गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशुको स्वास्थ्यमा आइपर्ने समस्याहरुमा जनचेतना जगाउन सञ्चार माध्यमको भुमिकाको वारेमा चर्चा गरिएको थियो । कार्यक्रमममा अझैपनि नेपालमा ४७ प्रतिशतले परियार नियोजनका साधान प्रयोग नगरेको तथ्याङ्कमा उल्लेख छ ।
कार्यक्रममा परिवार नियोजन साधनको प्रयोगदर र अपरिपुर्त माग, नीतिगत ब्यवस्था, परिवार योजनाका साधानको प्रयोग अवस्था, उपलब्धी, नेपालमा जन्मदरको अवस्था, परिवार नियोजन सेवामा सफलता, परिवार नियोजन साधनको नयाँ प्रयोगकर्ता, स्थायी बन्ध्याकरण सेवा, परिवार नियोजन साधनको प्रयोगदरलगायतका वारेमा जानकारी दिइएको थियो ।
कार्यक्रमको सहजीकरण बुद्ध हेल्थ प्रमोशन एण्ड एजुकेशन सेन्टरका वरिष्ठ प्रशिक्षक लक्ष्मीनारायण देव, परिवार नियोजन अधिकृत झापा शसीकुमार भट्टराई, स्वास्थ्य कार्यालय झापा प्रमुख योगराज घिमिरे, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका स्वास्थ्य शिक्षा अधिकृत इन्द्रबहादुर बाँनियाले गरेका थिए । कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका शाखा अधिकृत दीपक रिजाललगायतको उपस्थिति रहेको थियो ।