- चन्द्र बस्नेत
सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकालमा अक्सिजन उत्पादन शुरु भएको छ । कनकाई–३ स्थित सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा रहेको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन शुरु भएको हो ।
कोरोना महामारी उत्कर्षमा पुगेको बेला ३ बर्षको अवधीमा राज्यबाट प्राप्त १० लाख रुपैँयाँ सहयोग घोषणा गरेर कनकाई नगरपालिकाले अक्सिजन प्लाण्ट स्थापना शुरु गरेको थियो ।
स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले प्लान्ट स्थापना गर्न ५० लाख रुपैँयाँ सहयोग गरेको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । १ करोड ४९ लाख ५५ हजार ३१५ रुपैँयाँ ७५ पैसामा ललितपुरस्थित एभरेष्ट लाइन सप्लायर्सले प्लान्ट आपूर्तीको ठेक्का पाएको थियो ।
टर्कीको मेन्टिस इन्जिनियरिङ कम्पनीको प्लान्टबाट दैनिक ४० लिटरको १६० वटा सिलिण्डर ग्यास उत्पादन हुने सप्लायर कम्पनीका बायोमेडिकल इन्जिनियर प्रवल वाग्लेले जानकारी दिए । एउटा ४० लिटरको सिलिण्डर २० देखि ३० मिनेटमा भर्न सकिने उनले बताए । प्लान्टमा हाल एक पटकमा १२ वटा सिलिण्डर भर्न सकिने गरि व्यवस्था मिलाइएको छ । प्लान्ट उत्पादित अक्सिजनमा ९६ प्रतिशत शुद्धता हुने बताइएको छ ।
प्लान्ट केहि महङ्गो भएपनि अक्सिजनको शुद्धतालाई ध्यान दिएर युरोपीयन ब्राण्ड रोजेको नगर प्रमुख पोखरेलले बताए । ढिलै भएपनि प्लान्ट सञ्चालनमा आएको र आफूहरुले गरेको प्रतिबद्धता पूरा भएको मेयर पोखरेलको भनाई छ ।
कार्यक्रममा अब बिरामी वर्गहरुमा अक्सिजन अभावको समस्या हटेको भन्दै झापामा नै अक्सिजन अभावको कारण मानिसले ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य भएको कनकाईका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले बताए ।