बिर्तामोड ।

 झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले हल्दिवारीबाट एक युवाको उद्धार गरेका छन् । 

आर्थिक अभावका कारण उपचार गर्न नसकेर साङ्लोमा बाँधेर राखिएका युवाको सोमवार (आज) बिहान प्रसाईले उद्धार गरेका हुन् । उद्धार गरिएका ती युवाको सम्पूर्ण उपचार खर्च बीएण्डसी अस्पतालले व्यहोर्ने प्रसाईलेबताएका छन् । 

हल्दिबारी गाउँपालिका–५ बस्ने चन्द्रप्रसाद ढकालले आफ्नो २३ वर्षीय छोरा गङ्गाप्रसादलाई साङ्लोले घरको आँगनमै बाँधेर राखेका थिए । गाउँपालिकाको कार्यालय अगाडि चन्द्रले छोरालाई साङ्गोलमा बाँधेर राखे पनि गाउँपालिकाले चासो नदिएको उनीहरुको गुनासो थियो । उपचार खर्च जुटाउन नसक्दा छोरालाई बाँधेर राखेको चन्द्रप्रसादको भनाई छ ।

हल्दिवारी गाउँपालिकाले बनाई दिएको घरमा बस्दै आएका गंगाप्रसाद गत पुसदेखि मानसिक अवस्था बिग्रिएर थला परेका थिए। छोराको उपचार खर्च जुटाउन नसकेको उनका बुबा चन्द्रप्रसादले दुखेसो समेत पोखेका छन् । गाउँपालिकाको गेट नै अगाडि यस्तो अवस्था हुँदा समेत कसैको ध्यान गएको थिएन ।