बिर्तामोड । 

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बत्ताहरुले प्याब्सन, एनप्याब्सन र निजी बिद्यालयहरुप्रति आक्रोश पोखेका छन् । 

महासंघले शुक्रवार बिर्तामोडमा आयोजना गरेको पाठ्य पुस्तक तथा स्टेशनरी सम्बन्धि कार्यक्रममा उपस्थित बत्ताहरुले छलफलका लागि खवर गर्दासमेत उपस्थित नभएको भन्दै आक्रोश पोखेका हुन् । 

महासंघले पाठ्य पुस्तक तथा स्टेशनरीमा भएको समस्या समाधान गर्न आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्याब्सन, एनप्याब्सनको उपस्थित रहेको थिएन । उपस्थित बत्ताहरुले नीजि बिद्यालय, प्याब्सन र एनप्याब्सन प्रकाशकसँग साँठगाँठ गरेर अभिभावक र पुस्तक व्यवसायीलाई मारमा पारेको बताए । अभिभावक संघ झापाका सचिव रुद्र सिटौलाले राजनीतिक आडमा शैक्षिक भष्ट्राचार भएको भन्दै ब्यवसायीले प्रकाशकसँग आफ्ना समस्याका बिषयमा खुलेर समस्या राख्नु पर्नेमा जोड दिए । ‘बिद्यालय, शिक्षक, प्रकाशक, प्याब्सन, एनप्याब्सनमा समस्या छ, ती समस्याका बिषय खोज्नुपर्छ ।’ सिटौलाले भने ।  

महासंघ झापाका अध्यक्ष सन्जय शर्मा सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगर शिक्षा शाखा अधिकृत दिनेश आचार्य, महासंघका पूर्व केन्द्रीय सदस्य फडिन्द्र न्यौपाने, केन्द्रीय सदस्य रविन बराल, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख राजकुमार विश्वकर्मालगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष सापकोटाले आगामी बैशाख १५ देखि जेठ ३० गतेसम्म ७ दिन पुस्तक तथा स्टेशनरी पसल खोल्न पाउनु पर्ने, बिद्यालयले पुस्तक तथा स्टेशनरी सामाग्री बिद्यालयमा बेच्न नपनउनु पर्नेलगायतका विषयहरु उठान गरेका थिए । उनले देशभर ४ हजार ६ सय नीजि बिद्यालय रहेको तथ्याङ्क बताउँदै प्याव्सनले छुट्टै लिष्ट तयार गरेर देशभर सर्कुलर गरेको भन्दै उनले दुःख ब्यक्त गरे । 

 स्वागत कमल श्रेष्ठले गरेको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका शिक्षा शाखा प्रतिनिधि झल्का अधिकारी, अर्जुनधारा नगर शिक्षा शाखा प्रतिनिधि, पुस्तक तथा स्टेशनरी ब्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासंघ प्रदेश नं. १ उपाध्यक्ष राजकुमार दाहालले गरेका थिए ।