बुट्टबारी ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ७५ औ सेवाकेन्द्रको रुपमा बुट्टाबारीमा कार्यालय स्थापना गरेको छ । संस्थाको २७ औं बार्षिकोत्सवको अवसर पारेर केक काटेर औपचारिक रुपमा सोमवार सेवा केन्द्रको उद्घाटन गरेको हो ।
बुट्टाबारी सेवा केन्द्रका प्रमुख खगेन्द्र निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सूर्यकुमार कन्दङ्वाले सेवा केन्द्रको उद्घाटन गरेका हुन् ।
कार्यक्रमको औचित्य तथा स्वागत सेवा केन्द्र प्रमुख निरौलाले गरेको कार्यक्रममा चारआली अनुगमन अधिकृत गोमा बस्नेतले संस्थाको समग्र वस्तुस्थितिको वारे जानकारी गराएकी थिइन् । कार्यक्रममा सफल उद्यमीका रुपमा मिना कार्की र हिमादेवी भट्टराईलाई सम्मान गरिएको थियो ।
बिर्तामोड ६, ७ र अर्जुनधारा ११ कार्यक्षेत्र रहेको सेवा केन्द्रमा चारजना कर्मचारी रहेका छन् ।
शेयरपुँजी ३८ लाख ९० हजार ४०० रुपैयाँ रहेको सेवा केन्द्रले ८ करोड ७९ लाख १६ हजार ६१५ रुपैयाँ ऋण लगानी गरेको छ भने ४६ वटा समुह रहेको उक्त सेवा केन्द्रमा ७ करोड ८३ लाख ८४ हजार ३१० रुपैयाँ बचत रहेको सेवा केन्द्र प्रमुख निरौलाले जानकारी दिए । कार्यक्रमको सञ्चालन सेवा केन्द्रका कर्मचारी मुकुन्द उप्रेतीले गरेका थिए ।