बिर्तामोड ।
झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २७ औं वर्षमा प्रवेश गरिरहँदा उल्लेखिय कार्य गरेको छ ।
२०५२ चैत्र २१ गते स्थापना भएको संस्थाले गरिबी न्यूनिकरण, रोजगारी सिर्जना, स्वास्थ्य क्षेत्रमा, शिक्षा क्षेत्रमा, बिमा क्षेत्रमा, सामाजिक क्षेत्र तथा कृषि तथा पशुपालन क्षेत्रमा रचनात्मक तथा उल्लेखिय काम गर्दै सवैको मन जित्न सफल भएको हो ।
त्यसैगरी संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध कायम राख्दै सदस्य संरक्षण, कोरोना राहत कार्यक्रमलगायतका कार्य गर्दै जैविक विविधता तथा वाताबरण संरक्षणमासमेत योगदान गरेको छ ।
सदस्य संख्याका हिसावले देशकै ठूलो संस्थाको रुपमा परिचित सहारा नेपाल साकोसमा हाल एक लाख ६० हजार शेयर सदस्य पुर्याउन सफल भएको प्रमुख संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले जानकारी दिएका छन् । उनका अनुसार संस्थाको शेयर पुँजी एकसय ६५ करोड कुल वासलात १५ अर्ब, ९ अर्ब ५६ करोड बचत संकलन गरी १३ अर्ब १६ करोड ऋण प्रवाह गरेको छ ।
संस्थाले ५ सय २६ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ भने कृषि व्यवसायमार्फत ६ हजार ६२ जना, विदेशबाट फर्किएका तथा वेरोजगार ३ हजार ३ सय ८७ जना युवालाई अटो ऋण, साना तथा मझौला उद्योग मार्फत एकहजार २ सय जनामा उद्यम सिर्जना गरी ९ हजार ३० जनालाई विभिन्न व्यवसाय मार्फत स्वरोजगार बनाउन सफल भएको जनाइएको छ ।
हाल ११ जिल्लामा कार्यक्षेत्र रहेको संस्थाले ७७ वटा सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिए । प्रत्येक सामाजिक कार्यमा अग्र भागमा रहेर कार्य गर्दै आएको संस्थाले २७ औं बार्षिककोत्सवका अवसरमा मुख्य कार्यालय तथा सेवा केन्द्रहरुमा चैत्र २१ गते विविध कार्यक्रम आयोजना गरेको छ ।
संस्थाका कार्यबाहक अध्यक्ष हरिप्रसाद निरौला र प्रमुख कार्यकारी अधिकृत गिरीले संस्थालाई यो अवस्थासम्म ल्याउन साथ, सल्लाह/सुझाव र सहयोग गर्ने सवैलाई धन्यवादसमेत दिएका छन् ।