काँकडभिट्टा ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था काँकडभिट्टा सेवा केन्द्रले दुई दिने पशुपालक उद्यमी सदस्यलाई प्राविधिक तालिम प्रदान गरेको छ । संस्थाले १० हजार उद्यमी तयार गर्ने योजना अघि सारे अनुरुप चैत्र १७ र १८ गते सेवा केन्द्रले प्राविधिक तालिम प्रदान गरेको सेवा केन्द्र प्रमुख खेम पुरीले जानकारी दिए ।
संस्थाका योजनाकार तथा कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले यसअघि नै १० हजार उद्यमी तयार गर्ने घोषणा गरेका थिए । तालिमको सहजीकरण संस्थाका एग्री बिजनेस युनिट प्रमुख डा. कमलेश्वर भाटले गरेका थिए ।
तालिममा पहिलो दिन बाख्राको स्यारसुसार, रोग र औषधि, सन्तुलित दाना, तौल, पहिचान, सुईलगायतका बिषयमा बाख्रा फर्ममै गएर जानकारी गराइएको थियो । त्यस्तै दोस्रो दिन बंगुरको स्यारसुसार, रोग र औषधि, सन्तुलित दाना, तौल, पहिचान, सुई लगाउने, उपकरणले बच्चा बंगुरको दाँत तथा पुच्छर काट्नेलगायतको बिषयमा जानकारी गराइएको थियो । घरमै सन्तुलित दाना बनाउने तरिकालगायतको जानकारी गराइएको थियो भने ८० हजार रुपैयाँ बराबरको पशु औषधिसमेत वितरण गरिएको जनाइएको छ ।
तालिममा ३५ जना उद्यमीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा संस्थाको बस्तु तथा सेवा बारे सेवा केन्द्र प्रमुख खेम पुरीले जानकारी दिएका थिए । तालिममा प्राविधिक प्रविन कोइराला, पशु बिमा फोकल पर्सन बिनोद दाहाल, पशु प्राविधिक सृजना आचार्यलगायतको समेत उपस्थिति रहेको थियो ।