झापा । 

झापाको कमल गाउँपालिकाले सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ ।  गाउँपालिकाको सभाहलमा शुरु भएको चारदिने अभिमुखीकरण बिहीबार सम्पन्न भएको हो ।

गाउँपालिका उपाध्यक्ष बेनु शिवाकोटीले उद्घाटन गरेको कार्यक्रमको औचित्य बारे प्रकाश पार्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले कमल गाउँपालिका स्थानीयस्तरमै रोजगारी र उद्यमशीलता सिर्जना गर्न निरन्तर नयाँ ढंगले लागि परेको चर्चा गरे । उनले  वैदेशिक रोजगारीमा जाने निर्णय लिएकाहरू र वैदेशिक रोजगारी सम्बन्धी कुनै समस्या भएकाहरुका लागि विस्तृत जानकारी उपलव्ध गराउन कार्यक्रमको आयोजना गरिएको बताएका थिए । 

दुई दिन १ देखि ४ नं वडाका टोल विकास संस्था र दुई दिन वडा ५ देखि ७ का टोल विकास संस्थाका पदाधिकारी र वैदेशिक रोजगारीमा आफन्त रहेका परिवारका सदस्य एवम् वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सहभागिताका बीच अभिमुखीकरण सञ्चालन गरिएको थियो । 

अभिमुखीकरणमा रोजगारीमा जानुपूर्वका आवश्यक प्रक्रिया र सीपको महत्व, वैदेशिक रोजगारीका क्रममा आइपर्ने विभिन्न समस्या र ती समस्याका लागि सम्पर्क गर्नुपर्ने स्थान बारे जानकारी गराइएको थियो । 

यथासम्भव देशमै उद्यमशीलता र रोजगार, विकल्पमा सुरक्षित वैदेशिक रोजगार“ भन्ने सन्देशका साथ संचालित कार्यक्रममा देशमै उद्यमशील बन्नका लागि वित्तिय साक्षरता, वित्तिय लक्ष तथा उद्यमको छनोट जस्ता विषयमा समेत अभिमुखीकरण गराइएको थियो ।