मेचीनगर ।
पूर्वमा शैक्षिक क्षेत्रमा नाम कमाएको झापाको मेचीनगरस्थित धुलाबारीको इष्ट होराइजन अंग्रेजी माविले जीवन उपयोगी शिक्षा पद्धतिलाई प्राथमिकतामा राखेर कक्षा सञ्चालन गर्दै आएको छ ।
पढाइसँगै अतिरिक्त क्रियाकलापमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएको उक्त माविले विद्यार्थीको माग अनुसारका विषय छनोट गरेर त्यही अनुरुपको शिक्षा प्रदान गरिरहेको छ । जसका कारण विद्यार्थी र अभिभावकको रोजाइमा इष्ट होराइजन मावि सधैँ पर्ने गरेको छ । अध्ययन र अनुशासनको दायरालाई विद्यार्थीको जीवनसँग जोडेर शैक्षिक क्रियाकलापहरु हुँदै आएको स्कूलका प्रिन्सिपल सञ्जिव राईले बताए ।
उनले निजी विद्यालयको शैक्षिक गतिविधि पृथक हुनुपर्ने बताए । ‘प्राइभेट स्कूलमा अभिभावकहरुले पैसा तिरेर नानीहरु पढाउने गर्नु भएको छ,’ उनले भने, ‘त्यसैले पढाइको क्वालिटीसँगै पुराना र नयाँ खोज अनुसन्धान गर्ने कुरामा नानीहरुलाई उत्प्रेरित गर्न सक्नुपर्छ ।’
एनप्याब्सन झापाका पूर्व अध्यक्ष समेत रहेका शिक्षासेवी राईले निजी विद्यालयहरुले विद्यार्थीको गतिविधि उजागर गर्ने खालको शिक्षा दिनुपर्नेमा जोड दिए । उनले सबैको साथ र सहयोगले गर्दा इष्ट होराइजन मावि यहाँसम्म आइपुगेको बताए ।
मेचीनगर–१० मा अवस्थित इष्ट होराइजन मावि परिसरमा तरकारी खेती (करेसाबारी) गरिएको छ । विद्यार्थीले नै तरकारी रोपेर विक्री वितरण गर्दै आएका छन् । तरकारी फलाएर विद्यार्थीले स्कूलका शिक्षकहरुलाई बेच्ने गरेका हुन् ।
मूल्यमा मोलमोलाई गरेर शिक्षकहरुलाई तरकारी विद्यार्थीले बेच्छन् । यसो गर्नुको कारण चाँहि– पछि गएर विद्यार्थीले कृषि वा अन्य व्यवसाय गर्दा मोलमोलाई गर्न सकुन् भन्ने हो । मोलमोलाई गर्दा भविष्यमा उनीहरुको व्यवसाय सफल बन्नेमा विश्वास गरिएको छ ।
अहिलेको पुस्ताले पुराना सामग्रीको महत्व विस्तारै बिर्संदै गएका छन् । गाउँ–समाजमा ढिकी, जाँतो प्रयोग गर्न छाडिएको छ । अझ अहिलेका पुस्ताले ढिकी, जाँतो कस्तो हुन्छ भन्ने कुरा सुनेको मात्रै छन् । पुराना सामग्री लोप हुँदै गएपछि विद्यालयले ती सामग्री संग्रहालयमा राखेर विद्यार्थीलाई महत्व बुझाउने प्रयास गरिरहेको छ ।
त्यस्तै, विद्यालयले कुकिङ ल्याब सञ्चालन गरेको छ । विद्यार्थीले मिठो–मिठो खानेकुरा पकाएर शिक्षकलाई बेच्ने गरेको विद्यालय प्लस टु को–अर्डिनेटर रेखा क्षेत्रीले बताइन् । सँगसँगै सिलाई बुनाई तालिम पनि नियमित सञ्चालन गरिएको उनले बताइन् ।
यस्तै, विद्यार्थीलाई दुनाटपरी बनाउन सिकाउने साथै प्लविङ, इलेक्ट्रिसियन तालिम दिने गरेको क्षेत्रीले बताइन् । ‘अध्ययन, अतिरिक्त क्रियाकलापसँगै विद्यार्थीलाई पुराना कुराका बारेमा हामीले शिक्षा दिइहेका छौँ,’ उनले भनिन्, ‘ताकि भविष्यमा विद्यार्थीले पुराना कुरालाई अँगालेर नयाँ सुखद जीवन जिउन सकून् ।’
विद्यालयमा अनुशासनलाई महत्वपूर्ण पाटोको रुपमा हेरिन्छ । अनुशासन भएन भने अध्ययन नतिजा राम्रो निस्कन सक्दैन । त्यही भएर इष्ट होराइजन माविले अनुशासनलाई पहिलो शिक्षाको रुपमा लिएर पालना गराइरहेको विद्यालयका अनुशासन विभाग प्रमुख प्रेमनारायण डाँगीले बताए । उनले विद्यालयमा अध्ययनत् १५ सय विद्यार्थीका निम्ति अनुशासन पाटोलाई महत्वपूर्ण बनाएर लागू गरिरहेको बताए । ‘विद्यार्थी आफँै अनुशासित बन्नुपर्छ,’ उनले भने, ‘हामीले बनाएका नियमले उनीहरुलाई नै असल बनाउने शिक्षा दिइरहेको हुन्छ ।’
शिक्षक महेश खड्काले यस विद्यालयका विद्यार्थीहरुले विभिन्न विधामा राम्रो प्रदर्शन र नतिजा निकाल्न सफल भइरहेको बताए । उनले विद्यार्थीको चाहना र शिक्षकको मेहनतबाट नै सफलता हात पार्न सकिएको बताए ।