भद्रपुर ।
झापामा आर्थिक वर्ष ०७७/०७८ मा क्षयरोगका झण्डै एक हजार बिरामी पहिचान भएका छन् । विश्व क्षयरोग दिवसका सन्दर्भमा जिल्ला स्वास्थ्य कार्यालय झापाले आज कार्यालय परिसरमै आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा सो आंकडा प्रस्तुत गरिएको हो ।
कार्यालयका क्षयरोग फोकल पर्सन विश्वनाथ श्रेष्ठले अघिल्लो वर्ष जिल्लामा ९९२ क्षयरोगी पहिचान भएको जानकारी दिए । जिल्लामा मेचनिगर नगरपालिकामा सबैभन्दा धेरै १८८ र झापा गाउँपालिकामा सबैभन्दा कम २२ जना नयाँ रोगी भेटिएको उनले बताए । यद्यपि, कार्यालयले २१ सय थपिने अनुमान गरेकोमा ११ सय जति छुटिरहेको उनको भनाइ थियो । प्रदेश नं १ मै सबैभन्दा बढी क्षयरोगी झापामा रहेको बताइन्छ ।
श्वास प्रश्वासको माध्यमबाट सर्ने क्षयरोग बैलैमा पहिचान भई स्वास्थ्यकर्मीको निगरानीमा नियमित औषधि सेवन गर्दा निको हुने भए पनि बिरामीले रोग लुकाउने गर्दा क्षयरोगीको यकिन तथ्यांक संकलन र उपचारमा समस्या हुने गरेको कार्यालयको भनाइ छ ।