- धर्मेन्द्र मामा
बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर–७ गरामनीमा सञ्चालित गरामनी क्याम्पस भौतिक संरचना निर्माण पुरा गर्न नसक्दा प्रयोग बिहीन भएको छ। स्थापना कालदेखि नै स्थानीय दुर्गा माध्यमिक विद्यालयमा कक्षा सञ्चालन गर्दै आएको उक्त क्याम्पस आफ्नो भवन नहुँदा पठनपाठनमा समस्या झेलिरहेको छ।
दुई वर्षअघि क्याम्पस भवन निर्माण गर्न स्थानीय समाजसेवीहरु होम पाण्डे, कृष्णप्रसाद पाण्डे र हरि पाण्डेले आफ्ना मातापिताको स्मृतिमा ९ कठ्ठा जग्गा दान गरेपछि अहिले भवन निर्माण त भयो तर आवश्यक पुर्वाधार अधुरै रहेको छ।
कृष्णप्रसाद पाण्डे र होमप्रसाद पाण्डेले आफ्नो माता–पिता महेश्वर पाण्डे, जालपा र नरमाया पाण्डे को स्मृतिमा र हरिप्रसाद पाण्डेले भानुप्रसाद हरिप्रिया पाण्डेको स्मृतिमा उक्त जग्गा निःशुल्क प्रदान गरेका हुन् ।
उक्त जग्गा आज चैत्र ७ गते बिधिवत रुपमा क्याम्पसको नाममा दर्ता पास गरिदिएको दाता मध्येका कृष्णप्रसाद पाण्डेले बताए। जग्गामा हाल पाँच कोठे पक्की भवन निर्माण भएको छ तर झ्याल ढोका खानेपानी, शौचालय सुरक्षा व्यवस्था गर्न नसक्दा अझै पनि सञ्चालनमा ल्याउन सकिएको छैन।
हाल उक्त क्याम्पसमा व्यवस्थापन संकाय अन्तर्गत बिबिएस कक्षा सञ्चालन भइरहेको छ। अब चाँडै भवन निर्माण कार्य सम्पन्न गरि पठनपाठन नयाँ भवनबाटै शुरु गरिने र मानबिकी संकायको लागि पहल गर्ने पाण्डेले जानकारी दिए।