विर्तामोड । 

झापाको बिर्तामोड–३ स्थित बिर्ताबजारको अनारमनी पब्लिक क्याम्पसले कोभिड–१९ महामारीले अस्तव्यस्त बनाएको शिक्षा क्षेत्रलाई लयमा फर्काउन खेल प्रतियोगिता आयोजना गर्ने भएको छ । 

क्याम्पसले २ बर्षदेखिको कोरोना महामारी कहरका कारण बिद्यार्थीमा अध्ययनमा गिरेको आत्मबलमा बृद्धि र बिद्यार्थीको खेलप्रतिभा उजागर गर्ने उदेश्यले आगामी चैत्र ७ देखि ९ गतेसम्म विविध खेल प्रतियोगिताको आयोजना गरेको हो । 

क्याम्पसले चैत्र ७ देखि ९ गतेसम्म अन्तर मावि÷क्याम्पस भलिबल, बिर्तामोड नगरस्तरीय अन्तर मावि हाजिरी जवाफ र खुल्ला म्याराथन प्रतियोगिता आयोजना गरेको बिहीवार क्याम्पसमा पत्रकार भेटघाट गर्दै जानकारी गराइएको हो । 

चैत्र ७ गते बिहान १० बजेदेखि अन्तर मावि÷क्याम्पस नकआउट भलिबल प्रतियोगितामा छिमेकी पालिकाका मावि तथा क्याम्पसहरुले समेत सहभागीता जनाउन पाउनेछन् ।  प्रतियोगिताका प्रथम हुनेले ३५ हजार, दोस्रो २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउने क्याम्पस ब्यवस्थापन समितिका सदस्य रुद्र सिटौलाले जानकारी दिए । 

त्यस्तै चैत्र ७ गते नै बिहान ७ः३० बजेदेखि हुने खुल्ला म्याराथन दौड प्रतियोगितामा ५०/७० जनाको सहभागीता रहने लक्ष्य रहेको क्याम्पस व्यवस्थाप समितिका सदस्य तथा म्याराथन दौड प्रतियोगिताका संयोजक अर्जुन मैनालीले बताए । 

उनका अनुसार बिर्ताबजारस्थित अनारमनी पब्लिक क्याम्पसबाट शुरु हुने दौड प्रतियोगिता पुरानो भद्ररोड हुँदै मुक्तिचौक हुँदै क्याम्पसमा आएर समापन हुनेछ । प्रतियोगिताका प्रथमले ७ हजार, दोस्रोले ५ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने मैनालीले बताए । 

त्यसैगरी बिर्तामोड नगरस्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता चैत्र ९ गते बिहान ११ बजेदेखि सोही क्याम्पसमा हुने क्याम्पस प्रमुख मोहन शिवाकोटीले जानकारी दिए । क्याम्पस प्रमुख शिवाकोटीका अनुसार बिर्तामोड नगरपालिका भित्रका माविले मात्र हाजिरी जवाफ प्रतियोगितामा सहभागीता जनाउन पाउनेछन् । 

हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाउने उनले जानकारी दिए ।  प्रतियोगिता सम्पन्न गर्न बिर्तामोड नगरको खेलकूद समितिद्धारा एकलाख ५० हजार र क्याम्पसले एकलाख ५० हजार गरी अनुमानित ३ लाख खर्च हुने जनाइएको छ । 

पत्रकार भेटघाट कार्यक्रममा क्याम्पस ब्यवस्थापन समितिका उपाध्यक्ष कृष्ण विमली, सल्लाहकार उमानाथ ओलीलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।  समुदायको मानोमुठी सहयोगमा २०६४ सालमा स्थापना भएको क्याम्पस त्रिभुवन विश्वबिद्यालयको सम्वन्धनमा बिबिएस तहमा अध्यापन गराउँदै आएको छ भने हाल बिद्यालयमा २ सय ४५ बिद्यार्थी अध्ययनरत रहेको बिद्यालय प्रशासनले जनाएको छ ।