शिवसताक्षी ।
शिवसताक्षीको दूधेमा दोस्रो कर्णबहादुर नेम्वाङ्ग स्मृति अन्तर्राष्ट्रिय भेट्रान कप हुने भएको छ । शिवसताक्षीको निर्माणधिन दूधे रंगाशालामा आगामी चैत्र ०५ गतेदेखि १२ गतेसम्म भेट्रान कप हुने आयोजक शिवसताक्षी दूधे भेट्रान क्लबले जानकारी गराएको हो ।
पूर्वाअञ्चल क्षेत्रमा फुटबल खेलको बृहत विकास र विस्तार गर्दै खेलाडीहरुको मनोबल उच्च राख्ने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको भेट्रान कप २०७८ को आयोजना गरिएको आयोजक शिवसताक्षी भेट्रान क्लबका अध्यक्ष सन्तोष नेम्वाङ्गले बताए । उनले दोस्रो कर्णबहादुर नेम्वाङ्ग स्मृति अन्तराष्ट्रिय भेट्रान कपमा भारतको एक टिमसहित पूर्वका ७ टिमको सहभागिता रहने जानकारी दिए ।
सहभागी टिमहरुमा धरान फुटबल क्लब सुनसरी, जदा भेट्रान क्लब मोरङ्ग, दमक लखनपुर भेट्रान क्लब, विर्तामोड भेट्रान क्लब, चारआली भेट्रान क्लब धाइजन, काला बन्जार भेट्रान क्लब सुनसरी, युनाइटेड सुकिया दार्जेलिङ्ग र आयोजक दूधे भेट्रान क्लब रहने छन् ।
फुटबल प्रतियोगिताको विजेता टिमले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ४५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी म्यान अफ दी म्याच १५ सय, सर्वोकृष्ट खेलाडी ५ हजार, हाइस्कोररले ४ हजार पुरस्कार रासी तोकिएको बताइएको छ ।
प्रतियोगिताका सम्पन्न गर्न शिवसताक्षी नगरपालिकाले ८५ हजार रकम उपलब्ध गराउने बचन दिएको आयोजक शिवसताक्षी दुधे भेट्रान क्लबका सचिव विनोद खरेलले जानकारी दिए । उनका अनुसार दोस्रो पुरस्कार राशी जिग्री ग्रुप हङकङले प्रयोजन गर्ने भएको छ । त्यस्तै स्व. कर्णबहादुर नेम्वाङ्ग परिवारले खेल सम्पन्न गर्न ३ लाख रकम उपलब्ध गराउने बताइएको छ ।
करिब १२ लाख लाग्ने अनुमान गरिएको भेट्रान कपमा अन्य रकम स्थानीय संघ संस्था र बैदेशिक रोजगारीमा गएका साथी भाइको सहयोगबाट उपलब्ध हुने सचिव खरेलले बताए । भेट्रान कपमा दर्शकहरुको आकर्षकका लागि लक्कीड्र बाट दर्शकहरु मध्ये ५ जनालाई प्रति जना रु २ सय दरले रिचार्ज प्रदान गरिने गरिने समेत आयोजकले जनाएको छ ।