कमल ।
प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको फाइनलमा टेम्के फुटबल क्लब प्रवेश गरेको छ ।आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विदेशी खेलाडी सहित मैदानमा उत्रिएको रेडहर्ष फुटबल क्लब इलामलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै टेम्केले फाइनलको यात्रा तय गरेको हो ।
टाइब्रेकरमा रेडहर्षका लागि हरी सिटौला र सन्जित राईले गोल गरे । रेडहर्षका लागि मनिस थापा र अनिस थापाको प्रहार पोष्ट बाहिरीयो । टेम्केका कैलाश बस्नेत, अस्तोष राई, आकाश राई र बसन्त कुमार वानियाले टाइब्रेकरमा गोल गर्न सफल भए ।
केरखा खेल मैदानमा भइरहेको अध्यक्षकपको पहिलो सेमिफाइनल खेलमा १७औ। मिनेटमा टेम्केका मनिश चेम्जोङले गोल गरेका थिए । आकाश राईलेले डिबक्समा दिएको पासलाई सदुपयोग गर्दै मनिश चेम्जोङले गोल गरे । टेम्केले पहिलो हाफमा १–० को नतिजामा रेडहर्षलाई दवावमा राखेको थियो ।
दोस्रो हाफको २०औँ मिनेटमा रेडहर्षका मनिस थापाले गोल गर्दै खेल बराबरीमा पारे । निर्धारित समयमा १–१ को बराबरी नतिजा भए पछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
आइतबार भएको खेलको प्लेयर अफ दि म्याच टेम्केका आविस्कार खड्का घोषित भए । उनले नगद २ हजार ५ सय सहित ट्रफि, मेडल र प्रमाण पत्र पाए । सोमबारको दोस्रो दोस्रो सेमिफाइनल खेल एपीएफ पकली सुनसरी र धुलाबारी फुटबल एकाडेमी झापाबीच हुने आयोजकले जनाएको छ ।