बिर्तामोड । 

झापाको बिर्तामोड–४ को शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले झापा गोल्डकपलाई ५१ हजार रुपैयाँ सहयोग गरेको छ । गोल्डकपको पाँचौं संस्करण चलिरहँदा शनिबार शिक्षा सहकारी संस्थाले बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा पुगेर उक्त रकम सहयोग गरेको संस्थाका अध्यक्ष सुब्रत न्यौपानेल जानकारी दिए । 

खेलकुदको विकास, स्थायित्व र खेलप्रेमी तथा खेलाडीको उत्साहका लागि सहयोग रकम उपलब्ध गराइएको अध्यक्ष न्यौपानेले बताए ।अध्यक्ष न्यौपानेको नेतृत्वमा उपाध्यक्ष हेमराज मिश्र, सञ्चालकहरु चीजा राई र लक्ष्मीप्रसाद घिमिरे तथा संस्थाका ऋण अधिकृत राजेन्द्र पोखरेलको टोलीले सहयोग रकम बराबरको चेक झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतलाई हस्तान्तरण गरेको हो ।

सामाजिक अभियानमा निरन्तर सहयोग गर्दै आएको शिक्षा सहकारी संस्थाले यसअघि पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागि पनि ५१ हजार रुपैयाँ सहयोग गरेको थियो । बहुजातीय संग्रहालयसहितको झापा नाटक घरका लागि पनि यसअघि संस्थाले ५१ हजार रुपैयाँ सहयोग गरिसकेको छ ।