सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकामा मजदुरको हितका लागि देशकै पहिलो मजदुरको सहकारी स्थापना भएको । मजदुरलाई साह्रे गाह्रो पर्दा मद्धत गर्ने तथा मजदुरको शीप विकास छोराछोरीको उच्च शिक्षा लगायातको काम गर्नका लागि मजदुर मात्रैको सहकारी कनकाई श्रमिक बहुउद्धेश्यीय सहकारी लिमिटेड सञ्चालनमा आएको हो ।
सुरुमा ३२ जना शेयर सदस्य रहेको सहकारीमा चाडै ५ सय वढी श्रमिक सदस्य रहने छन् । सहकारीको अध्यक्षमा मनकुमार न्यौपाने, उपाध्यक्षमा टंक गुरागाई, सचिवमा डम्बरबहादुर बस्नेत, सहसचिवमा मोहमद इज्राइल र कोषाध्यक्षमा चन्द्र मग्राती रहेका छन् । यसैगरि सदस्यहरुमा निलकण्ठ मिश्र, दिर्घकुमार अधिकारी, अन्जना माझी र हरिमाया ओली रहेका छन् ।
सहकारीका लागि यसअघि नै कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले १ बर्षको सेवा सुविधा वापतको रकम ३ लाख १६ हजार रुपैँयाँ प्रदान गरेका छन् भने नगरपालिकाबाट मजदुरका लागि थप २२ लाख रुपैँयाँ समेत मजदुर हित कोषलाई प्रदान गरेका छन् ।
मजदुर हित कोषबाटै संचालित यस सहकारीलाई कम्तीमा एक करोड रुपैँयाँ बनाइने अध्यक्ष मनकुमार न्यौपाने केशरले बताएका छन् । कार्यक्रममा मजदुर सहकारीलाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले प्रमाणपत्र प्रदान गरे ।
प्रमाणपत्र बितरण कार्यक्रममा कनकाईका सहकारी विभाग प्रमुख हरिप्रसाद पौडयाल, नेपाल स्वतन्त्र जडान तथा निर्माण मजदुर युनियान कनकाईका अध्यक्ष धनबहादुर बोगटी लगायातको उपस्थिति रहेको थियो । मजदुरले यसअघि दुर्घटना पर्दा औषधि उपचार, निर्माण लगायात अन्य मजदुरलाई तालिम लगायातका कामहरु गर्दै आएको मजदुर युनियानका अध्यक्ष धनबहादुर बोगटीले बताए ।