कमल ।
झापाको कमल गाउँपालिकामा सञ्चालित प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा चारतारे फुटबल क्लब मोरङलाई पाखा लगाउँदै रेडहर्ष फुटबल क्लब इलाम सेमिफाइनल प्रवेश गरेको छ । आज शुक्रबार भएको खेलमा रेडहर्ष इलामले चारतारे मोरङ विरुद्ध २–१ को नतिजा निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो ।
खेल सुरु भएको २५औं सेकेण्डमा नै चारतारेका आयुष लिम्बुले गोल गरे । खेलको अग्रता कायम गरिरहेको चारतारे विरुद्ध रेडहर्षका युवराज राईले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टिमलाई बराबरीमा ल्याए । नतिजा पहिलो हाफमा १–१ को बराबारी भएको थियो ।
रेडहर्षको तर्फबाट दोस्रो हाफको १४औ मिनेटमा युवराज राईको क्रसमा मनिस थापाले गोल गर्दै नतिजा दोब्बर बनाए । खेलमा दुबै टिमले गोल गर्ने अवसर प्राप्त गरे पनि थप गोल गर्न नसक्दा नतिजा २–१ मा टुङ्गिएको थियो ।
खेलको प्लेयर अफ दि म्याच रेडहर्षका मनिस थापा भए । उनले नगद २ हजार ५ सय रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत शनिबारको अन्तिम क्वार्टर फाइनल खेल बेलबारी फुटबल क्लब मोरङ र धुलाबारी फुटबल एकाडेमि झापाबीच हुने खेल संयोजक तेजकुमार राईले बताए ।